काठमाडौ । कनिष्ट डीआइजीलाई एआइजी बढुवा गरी अस्पताल प्रमुख बनाएपछि पछिल्ला दिनमा प्रहरी अस्पताल नेपालकै सबै भन्दा धेरै स्पष्टीकरण सोध्ने थलो भएको छ । साधारणतया प्रहरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट फेरिएपछि कसरी स्वास्थ्य सेवा प्रभावकारी बनाउने भन्नेबारेमा चिकित्सकहरुसँग सल्लाह गर्ने र प्राप्त राम्रा सुझावलाई लागु गर्ने नै हो । प्रहरी प्रधान कार्यालयसँग समन्वय गरी अस्पतालको सेवा प्रभावकारी बनाउने हो । तर अहिले प्रहरी अस्पतालमा ठीक उल्टो देखिएको छ ।
प्रहरी अस्पतालमा सबैसँग समन्वय गरी काम गर्नुको साटो डाक्टर आशा सिंह स्पष्टीकरण लिनमै ब्यस्त देखिएकी छन् । सिंह अस्पताल प्रमुख बनेपछि तल्लो तहका अधिकृतहरुलाई मात्र होइन हिजो सेवाप्रवेशदेखि नै आफूभन्दा सिनियर डीआईजी डाक्टर मीनराज पाठकलाई समेत तर्साउन एकपछि अर्को स्पष्टीकरण काट्न ब्यस्त छिन् ।
अस्पताल स्रोतबाट प्राप्त जानकारी अनुसार डा. सिंहले डीआइजी पाठकलाई ५ वटा स्पष्टीकरण काटिसकेकी छन् । कुनै कुनै स्पष्टीकरण त सुन्दा पनि आश्चर्य लाग्ने खालका छन् । उनले क्वाटरको बार हटाउने सम्बन्धमा पनि स्पष्टीकरण मागेकी छन् ।
अस्पतालका जानकारहरु भन्छन्, प्रहरी अस्पतालमा जुनियरलाई सिनियर बनाई सुपरिटेन्डेन्ट बनाउँदा यो भद्रगोल भैरहेको छ । आशा सिंहलाई पूर्वआइजीपी सर्वेन्द्र खनाल र सरकारले अप्राकृतिक रुपले माथि ल्याइदिए पनि अस्पतालका कर्मचारीहरुले मनभित्रबाट यो निर्णय पचाउन सकेका छैनन् । यस्तो समयमा डा.आशा सिंहले हिजो आफूभन्दा सिनियर रहेका डा.पाठकलाई कुशल ब्यवस्थापक भएर हातमा लिई काम गराउनुपर्दथ्यो तर ब्यवस्थापकीय ज्ञान नभएकी सिंहले यो काम गर्न सकिनन् । र, आफूभन्दा बरिष्ठ पाठकको अपमान गर्न स्पष्टीकरणको बर्षा गराउँदैआएकी छन् ।
अस्पतालका अधिकारी भन्छन्,डा. आशा सिंहभित्र कमाण्ड गर्ने क्षमता नहुनुको एउटा उनी अझै मनोवैज्ञानिक रुपमा डा.पाठकसँग त्रसित छन् र आफूले अनैतिक कामहरु गरे एक्सपोज हुने आशंकामा उनी स्पष्टीकरणमाथि स्पष्टीकरण सोधी उनको मनोबल गिराउन तल्लीन छन् । उनलाई राजीनामा गराउन बाध्य पार्ने रणनीतिमा डा. आशा सिंह अगाडि बढेको देखिन्छ ।
प्रहरी अस्पताल अहिले बिरामीको सेवा गर्ने भन्दा पनि डा. आशा सिंहको हुकुमी शासन खेप्ने र चिकित्सक चिकित्सक झगडा गर्ने थलो भएको छ । यस अस्पताललाई प्रहरी प्रधान कार्यालय तत्काल हस्तक्षेप नगरे यहाँ छिट्टै ठूलै घटना घट्ने स्थिति देखिन्छ । अस्पतालका कर्मचारी भन्छन्–यो सब जुनियरलाई माथि तान्दा आएको दुष्परिणाम हो । एआइजी आशा सिंहसँग प्रहरी प्रधान कार्यालयले तत्काल किन राम्रो ब्यवस्थापन गरी कर्मचारीहरुको मनोबल उच्च गरी काम लगाउन नसकेको भनी स्पष्टीकरण सोधी ठाउँमा नल्याए त्यहाँ अप्रिय घटना घट्ने स्थिति निश्चित देखिन्छ ।