काठमाडौं । बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्रहालयमा रेष्टुरेन्ट संचालनका लागि लिएको जग्गामा निर्माण भइरहेको संरचना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भत्काएको छ । मन्त्रालयले दिएको निर्देशन अनुसार बतास समूहलाई रेष्टुरेन्ट संचालन गर्नका लागि दिएकोे अनुमति नारायणहिटी दरबार संग्रहालय बिकास समितिले मंगलबारै रद्द गरिसकेको छ ।
नारायणहिटी संग्रहालयमात्र होइन, पशुपति विकास कोष अन्तर्गतको जग्गामा निर्मित नेपाल–भारत पशुपति मैत्री धर्मशाला बतास समूहलाई होटल संचालन गर्न लिजमा दिने निर्णय पनि खारेज हुने भएको छ । विश्वकै हिन्दूहरुका आराध्यदेव पशुपतिनाथको दर्शनका लागि आउने तीर्थयात्री बस्नका लागि भारत सरकारले बनाइदिएको धर्मशाला पशुपति विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापाले बतासको होटल आनन्दलाई २०७५ मा भाडामा दिएका थिए ।
१९ रोपनी क्षेत्रफलमा फैलिएको धर्मशाला महिनाको दुई लाख २१ हजार रुपैयाँ तिर्ने गरी भाडामा दिइएको थियो । धर्मशालाका लागि निर्माण गरिएको भवन होटललाई दिने क्रममा करोडौंको घुस तत्कालीन पर्यटन मन्त्री, प्रदीप ढकाल र मिलनकुमार थापासहितको टोलीले लिएको थियो । तत्कालीन कोषाध्यक्ष थापाकै संयोजकत्वमा कमिटी बनाएर होटल आनन्दलाई धर्मशाला भाडामा दिइएको थियो ।
थापा कोषका हाल सदस्य सचिव छन् । उनीमाथि पशुपतिको मुख्य शिवलिंगमा सुनको जलहरी स्थापना गर्दा ११ किलो सुन हिनामिना गरेको आरोप छ । अख्तियारले ११ किलो सुन प्रकरणमा थापामाथि छानबिन गरिरहेकै समयमा उनीमाथि धर्मशाला भाडाको अनियमितताबारे मन्त्रालयले समिति बनाएको छ । थापा प्रेमबहादुर आले पर्यटन मन्त्री नियुक्त हुनुअघि नै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग सेटिङ गरी सदस्य सचिव भएका थिए ।
अख्तियारले सुन प्रकरणमा उनीसँग पटक पटक बयान लिएको भए पनि उनी प्रधानन्यायाधीश राणालाई सेटिङ गरेकाले कारबाही नहुने भन्दै ढुक्क हुँदैआएका छन् । पशुपति विकास कोषको धर्मशाला भाडादेखि सुनको जलहरी स्थापना गर्दा करोडौं अनियमितता गरेका थापाको शैक्षिक योग्यता पनि आशंकाको घेरामा रहेको छ । उनले तन्त्रमन्त्रमा पीएचडी गरेको प्रमाणपत्र पेश गरी कोषको सदस्य सचिव भएका छन् । जबकि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातोत्तर उत्तीर्ण योग्यता भएको ब्यक्तिमात्र सदस्यसचिव हुनसक्ने ऐनको ब्यवस्था छ ।
तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष मिलन थापाले पशुपति विकास कोष संचालक परिषदको निर्णयविना नै धर्मशाला भाडामा दिएका थिए, जुनबेला पर्यटन मन्त्री स्व. रविन्द्र अधिकारी थिए । अधिकारी र बतास दुवै पोखराका हुन् ।
भारत सरकारको सहयोगमा बनेको धर्मशालासमेत बतास समूहलाई दिएर घुस खाने पशुपति विकास कोषका सदस्य सचिव –तत्कालीन कोषाध्यक्ष) मिलनकुमार थापाले नै होटललाई दिन उपयुक्त हुने प्रतिवेदन दिएकाले उनीमाथि पनि मन्त्री आलेले एक्सन लिने भएका छन्् । धर्मशालामा संचालित होटल आनन्दले बस्ने खानेबाहेक ग्राहकसँग एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म लिने गरेको छ । धर्मशालाको भवनबाहेकको खाली जग्गामा बतास अर्गनाइजेसनले निजी कार्यालय राखेको छ भने अधिवक्ताको कार्यालयदेखि बतास समूहकै गाडीको सोरुम समेत राखेको छ ।
धर्मशाला भाडा प्रकरणमा छानबिन समिति गठन
नारायणहिटी दरबारभित्रको रेष्टुरेन्ट निर्माणको प्रकरणमा विवादमा तानिएको बतास अर्गनाइजेसनले भाडामा लिएको नेपाल–भारत पशुपति मैत्री धर्मशालाको बारेमा पछि छानबिन गर्न पर्यटन मन्त्रालयले ५ सदस्यीय छानबिन समिति बनाएको छ ।
कोषका संचालक परिषदका सदस्य नारायण सुवेदीको संयोजकत्वमा बिहीबार गठित उक्त समितिका सदस्यमा परिषद सदस्य आशा पाण्डे, विश्वकरण जैन तथा देवीप्रसाद बराल रहेका छन् भने मन्त्रालयका लेखानियन्त्रक सदस्यसचिव रहेका छन् । समितिलाई सात दिनभित्रमा प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।
पशुपति मैत्री धर्मशालालाई होटलका रूपमा सञ्चालन गरिएको भन्ने आरोप लागेपछि त्यसको सत्यतथ्य छानबिनका लागि उक्त समिति गठन गरिएको जनाइएको छ । समितिले प्रतिवेदन दिएपछि त्यसका आधारमा धर्मशालामा होटल संचालन गर्न दिने अनुमतिका बारेमा थप कारबाही हुने पर्यटन मन्त्री आलेले बताए ।