Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यांमालाई हिउँले दिएको पीडा!


    शुक्रबार, पुष २३ २०७८
    690
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडाैं । चाँदी जस्तै टल्किने हिमालहरू। चारैतिर त्यसको पहिलो दृश्यबाट प्रत्येक दिनको हेराइ सुरूआत हुन्छ।

    बिहान उठ्नेबित्तिकै दुलही लजाएर घुम्टाले झपक्कै छोपिएजस्तै हिउँले छोपिएका हिमाल देख्दा ताप्लेजुङबासी आफूलाई गर्वको महसुस गर्छन्। त्यही हिमालको पीडाले यहाँ मानिसलाई त्यत्तिकै सताएको पनि छ। 

    यही पुस १३ र १४ गते हिमाली जिल्लाहरूमा बाक्लो हिमपात भयो।

    ताप्लेजुङका लेकदेखि बेंसीसम्म हिउँ आइपुग्यो। धेरैको जनजीवन प्रभावित हुन पुग्यो। मिक्खोला गाउँपालिका-५ पापुङका बाबुछोरा चौंरी गोठ सर्ने क्रममा हिमपहिरामा परे।

    तिनको उद्धारका लागि अल्टिच्युड एयर कम्पनीको हेलिकप्टरमार्फत् दुई दिन पहल गर्दा पनि बसेको ठाउँ पत्ता लाग्न सकेन।

    ओढारमा बसेको छ दिनमा मात्र उनीहरू आफैं हिँडेर गाउँ आइपुगे। समुद्र सतहदेखि चार हजार २०० मिटरको उचाइमा रहेको यांमा बस्ती भने हिमपातसँगै अहिले सम्पर्कबिच्छेद बनेको छ। 

    चीनको सीमावर्ती क्षेत्र फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ यांमामा हिमपात भएसँगै अहिलेसम्म गाउँका समुदायसँग सम्पर्क हुन नसकेको ताम्लिङ शेर्पाले बताए।

    सदरमुकाम फुङ्लिङदेखि एक दिन सवारी साधन र बाँकी दुई दिन पैदल यात्रामार्फत् तीन दिनमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङ्गोलाको यांमा पुगिन्छ। जिल्लाकै उच्च तथा दुर्गम बस्ती यांमामा हिमपात भएसँगै त्यहाँका समुदायसँग सम्पर्कबिच्छेद भएको हो। 

    एघार घरका करिब ४० जनाको स्थायी बसोबास  रहेको यहाँको मुख्य पेसा पशुपालन हो।

    उच्च हिमाली क्षेत्र भएकाले खेतीपाती हुँदैन। सो बस्ती पशुपालनमा पनि याक गोठमा निर्भर रहन्छ। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का आर्थिक तथा प्राविधिक सहयोगमा यांमा क्षेत्रमा  चार सय, ओलाङ्चुङ्गोला क्षेत्रमा ४३५ र घुन्सा क्षेत्रमा ३६ याकको बीमासमेत गरिएको परिषद्का कार्यक्रम संयोजक जितेन चेम्जोङले बताए।

    चीनका विभिन्न क्षेत्रमा नेपाली याक, तिनका बाछा र चौंरी याकबाट उत्पादित छुर्पी, घिउका साथै पशुजन्य वस्तु चीनका बजारमा राम्रो मूल्यमा बिक्री हुने भएकाले  यांमा समुदायले याक गोठ छाड्न सकेको छैन। 

    चीनका बजारमा प्रतियाक रु ६० हजारदेखि रु  एक लाख ५० हजारसम्ममा बिक्री हुने गरेको स्थानीयबासी बताउँछन्।

    छुर्पी र घिउ प्रतिकिलो रु एक हजार २०० सयमा बिक्री हुने गरेको यांमाका फिम्जो शेर्पाले बताए।

    यांमा समुदायको प्रमुख आम्दानीको स्रोत नै याक पालन हो। करिब तीन वर्षदेखि भने चीनतर्फको नाका बन्द छ। यसबाट आर्थिक संकटसमेत खेप्दै आएको समुदायलाई अहिले हिमपातले सताएको छ। 

    विकास पूर्वाधारबाट धेरै टाढा रहेको बस्तीमा स्वास्थ्य, शिक्षा, सञ्चार र यातायात जस्ता भौतिक पूर्वधार पुग्न सकेको छैन।

    विगतमा विद्यालय भए पनि विद्यार्थी नभएपछि बन्द भयो। यहाँ अहिलेसम्म स्वास्थ्यचौकी स्थापना भएको छैन। यहाँका मानिस बिरामी भएमा जंगलमा भएको जडिबुटी नै औषधोपचारको स्रोत रहिआएको छ।

    यहाँ अहिले बिजुली बत्तीसमेत छैन। परिषदले दिएको सौर्य ऊर्जाले हिमपात तथा घाम नलाग्दा काम गर्दैन। त्यस समयमा अन्धकारमा नै बस्नुपर्ने हुन्छ। 

    यांमा गाउँमा सञ्चारको पहुँच सहज छैन। सञ्चार आदानप्रदान गर्नुपर्‍यो भने खोला तरेर दुई घण्टा हिँडेपछि बल्ल स्काईको नेटवर्क भेट्न सकिए पनि  गत साता बाक्लो हिमपात भएसंँगै यांमा समुदाय सम्पर्कमा आउन नसकेको  ताम्लिङ शेर्पाले बताए।

    हिमपात हुनुअघि नै शेर्पा भने सदरमुकाम फुङ्लिङ झरेका थिए।

    ताम्लिङले भने, ‘मेरा छोराबुहारी यांमामै छन्। एक याक गोठ छ। ७० वटा याक छन्। अहिलेसम्म फोन सम्पर्क भएको छैन।’ 

    उनीहरूसँग सम्पर्क हुन सक्दा आफू चिन्ताले निदाउनै नसकेको ताम्लिङले बताए। 

    लामो समयसम्म फोन सम्पर्कमा नआउँदा यांमा बस्तीबारे आफूलाई पनि चिन्ता हुने फक्ताङलुङ गाउँपालिका—६ घुन्साका सेराप शेर्पाले बताए। 

    उनले भने, ‘मेरो पनि ससुराली यांमा हो तर हिमपात भएयता कोही पनि सम्पर्कमा आउनुभएको छैन।’

    यांमा गाउँको समुदायले हिमपात हुनु अगाडि नै आवश्यक पर्ने खाद्य पदार्थ तथा न्यानो कपडा र याकका लागि घाँसको जोहो गरेर राखेकाले हिमपातमा सुरक्षित हुन सक्ने फक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष छेतेन लामाले बताए।

    उनले भने, ‘यांमा गाउँ जाउँ भने हिउँले बाटो बन्द भएको छ तर  हिउँ पर्ने समयमा  याक गोठहरू पनि हिमपहिराबाट जोगिन सक्ने ठाउँहरूमा सारिएको छ।’

    वरिपरि हिमालले घेरेको र यांमा खोलाको किनार खोंचमा रहेको यांमामा कहिलेदेखि बस्ती बस्न थालेको हो भन्ने थाहा नभएको स्थानीयबासी ६५ वर्षीय ताम्लिङ शेर्पाले बताए। 

    सञ्चार सुविधा नहुँदा सूचना आदानप्रदानमा समस्या रहँदै आएको छ। देशमा विकास र परिवर्तनले धेरै गति लिए पनि यांमा बस्ती अहिलेसम्म ओझेलमै रहेको ताम्लिङले गुनासो गरे। 

    यांमाकै  छाम्जे शेर्पाले पनि सञ्चार सुविधा नहुँदा धेरै समस्या रहेको बताए।

    भारतको दार्जिलिङलगायत सहरमा अध्ययन गर्ने आफ्ना छोराछोरी र अन्य आफन्तसँग सम्पर्क नहुँदा सधैंं मनमा पीडा हुने गरेको ताम्लिङ  बताउँछन्।

    छोराछोरी र आफन्तसँग एकार्काको खबर तथा सूचना आदानप्रदान गर्न नपाउँदा मनमा चिन्ताले घर गरिरहने पीडा उनी व्यक्त गर्छन्। 

    बर्खामा यांमा–ओलाङ्चुङगोला आवतजावत  पनि बन्द हुन्छ। पुस, माघ, फागुन र चैतमा हिमपात हुने भएकाले यांमा जान सकिँदैन।

    यांमा खोलामा हिउँदमा काठेपुल लगाएर आउजाउ गर्ने गरिन्छ भने बर्खामा पुल बगाउने हुँदा  यांमासँग सम्पर्क टुट्ने  गर्छ। यांमा गाउँदेखि एक/डेढ घण्टा टाढा डाँडा-डाँडामा नेटवर्क खोज्दै जाँदा कुनै बेला स्काई मोबाइलमा सम्पर्क हुने गरेको छ। स्काईमा सम्पर्क भइहाले पनि कुराकानी भने सहज रूपले गर्न पाइँदैन। 

    थोरै परिवार र कम जनसङ्ख्याको बस्ती भएकाले यांमामा सञ्चारको पहुँच पुर्‍याउने तत्काल कुनै योजना नभएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार