काठमाडाैं । त्रिभुवन विमानस्थलबाट सौर्य एयरलाइन्सकी कर्मचारी स्रोत नखुलेको ५० लाख नगदसहित पक्राउ परेकी छन् ।
काठमाडौंस्थित एयरलाइन्सको असिस्टेन्टको रुपमा कार्यरत रेखा शाक्य पोखरेल शनिबार दिउँसो पौने २ बजे विमानस्थलबाट ५० लाख रूपैयाँसहित पक्राउ परेकी हुन् ।
सौर्य एयरलाइन्सको उडान नम्बर एसएयू ७२४ मा स्रोत नखुलेको रकम रहेको भन्ने सूचना प्रहरीले पाएको थियो ।
शनिबार दिउँसो विराटनगरबाट काठमाडौं आएको जहाजमा स्रोत नखुलेको रकम आएको बारे सूचना आएपछि सादा पोसाकमा खटिएको प्रहरीले चेकजाँच गर्दा १ हजार दरका ४९५० वटा र ५०० दरका १०० वटा गरी जम्मा ५० लाख नगद बरामद भएको थियो ।
‘विराटनगरमा चेक नगरी विमानमा हाल्यो। अवैध सामान छ भन्ने सूचना मलाई आएपछि यहाँ गएर चेक गर्दा ५० लाख भेटियो,’ प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले भने, ‘उताकै स्टेशन म्यानेजरले हालेर पठाएको र यता कर्मचारीलाई रिसिभ गर्न लगाउँदा पक्राउ परिन्।’
बरामद भएको नगद र उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाएको छ ।
थप अनुसन्धानको लागि सौर्य एयर विराटनगरका स्टेशन म्यानेजर प्रकाश पौड्याललाई पनि नियन्त्रणमा लिएर काठमाडौं ल्याउँदै गरेको प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले जानकारी दिए।