डोटी । आज सुदूरपश्चिम प्रदेशमा पुष्टि भएका कोरोना भाइरसका संक्रमितहरुमध्ये धेरै युवाहरु रहेको पाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुदूरपश्चिममा आइतबारसम्म पुष्टि भएको १००७ जना संक्रमितमध्ये करिब ७० प्रतिशत २० देखि ३९ वर्ष उमेर समूहका रहेका छन् ।
संक्रमित हुनेहरुमा नौ वर्षसम्मका बालबालिकाहरुको संख्या ४.४६ प्रतिशत र ६० वर्षभन्दा माथिको संख्या १.४८ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ ।
बालबालिकाहरुको सूचीमा बाजुरा जिल्ला, गौरी गंगा नगरपालिकाकी क्वोरन्टिनमै जन्मिएकी एक बालिका पनि रहेकी छिन् ।
कुल संक्रमितमध्ये २०/२९ वर्ष उमेर समूहका सबैभन्दा बढी ४७६ अर्थात् करिब ४७ प्रतिशत रहेको छ ।
यस्तै ३०/३९ वर्ष उमेर समूहका २२८ अर्थात् २२.६४ प्रतिशत १0/२९ वर्ष उमेर समूहका १२१ अर्थात् १२ प्रतिशत, ४०/४९ वर्ष उमेर समूहका ८.४४ प्रतिशत र ५०/५९ वर्ष उमेर समूहका ३.५७ प्रतिशत रहेको छ ।
यसैगरी ६०/६९ उमेर समूहका करिब एक प्रतिशत र ७० वर्षमाथिको ०.५ प्रतिशत रहेका छन् ।