Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लमजुङका गुरुङ समुदायले धूमधामका साथ मनाए तमु ल्होसार


    बिहिबार, पुष १५ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • लमजुङ। लमजुङका गुरुङ समुदायले ल्होसार अर्थात् (नयाँ वर्ष) धूमधामका साथ मनाएका छन् । गतवर्ष कोरोना संक्रमण जोखिमका कारण ल्होसार मनाउन नपाएका गुरुङ समुदायले यसवर्ष केहिदिन अघि देखिनै विविध कार्यक्रम गरी मनाएका हुन् । गुरुङहरूले यो वर्ष ल्वोँ ल्हो अर्थात् गाई वर्गलाई बिदाइ गरी तो ल्हो अर्थात् बाघ वर्गलाई स्वागत गर्दै ल्होसार भव्यताका साथ मनाइरहेका छन् । 

    बर्गचक्र फेरिएसँगै गुरुङ समुदायमा नयाँ वर्षको रूपमा धूमधामसँग तमु ल्होसार पर्व मनाउने गरिन्छ । गुरुङहरूको जन्मदेखि मृत्युसम्मका सबै कर्मकाण्ड ल्हो अर्थात् वर्गको महत्त्व भएकोले ल्होसारलाई ठूलो पर्वको रूपमा मनाउने गरिएको गुरुङ समुदायका अगुवा पूर्णसिहं गुरुङ बताउँछन् । 

    ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरु गरिन्छ । साँझ पूजापाठ, भोजभतेर, नाचगान गरी आधा रातमा ’नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग (भेट, आशिष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर धूमधामका साथ मनाउने तमु प्ये ल्हु संघ लमजुङका अध्यक्ष क्याप्टेन मिलबहादुर गुरुङले बताए । 

    ल्होसारको अवसरमा लमजुङको सदरमुकाम बेसीशहर सहित जिल्लाका गुरुङ बाहुल्यता रहेका गाउँहरूमा विशेष रौनक छाएको छ । ल्होसारका अवसरमा लमजुङका गुरुङ बस्तीहरूमा मेलामहोत्सव समेत आयोजना भएका छन् । गुरुङ समुदायको बाहुल्य रहेको लमजुङमा पहिले पहिले गाउँघर तिर मात्र ल्होसार मनाउने गरिन्थ्यो, भने पछिल्लो समय बजार तिर पनि केन्द्रित हुन थालेको तमु ह्युला छोजधी गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य एवम् क्व्होलासोंथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घले बताउँछन् । प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग प्रतिकका रूपमा लिइन्छ । 

    प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरी ल्होसार मनाउने गरिएको तमु ह्युला छोज धिँ जिल्ला कार्य समिति लमजुङका अध्यक्ष ठाकुरप्रसाद गुरुङले बताए । ल्होसारको अवसरमा जिल्लाका विभिन्न गाउँमा विविध सांस्कृतिक कार्यक्रम र प्रतियोगिता, शुभकामना तथा स्योकै खाने कार्यक्रम आयोजना गरिएका छन् । 

    पुस १५ गते ल्होसारको मुख्य कार्यक्रम सकिए पनि टोलटोलमा ल्होसार मनाउने कार्यक्रम भने जारी छ । बेसीशहरको मनाङे चौतारा टोल, प्रगति टोल , सहजी टोल, शान्ति टोल र सेरा टोलमा  १७ र १८ गते दिनभरि नाचगान गरी टोलका स्थानीय एक आपसमा भेला भएर स्योकैं अर्थात् सामूहिक भोज खाने कार्यक्रम हुनेछ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार