Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ग्रहणले ढाक्यो सूर्यलाई


    आइतबार, असार ७ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । आज आषाढ कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको छ। यो ग्रहण वलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास (केही भाग) मात्र देखिएको छ। नेपालमा बिहान १०ः ५५ देखि सुरू भएको ग्रहण अपराह्न २ः २४ बजे समाप्त हुनेछ।

    शास्त्रीय मान्यताअनुसार शनिबार राति १०ः५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ।

    ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरीमा र यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

    वरिष्ठ खगोलविद् एवं वाल्मीक विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यका अनुसार काठमाडौँबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिन्छ।

    चन्द्रग्रहण हेर्दा आँखामा कुनै असर गर्दैन भने पनि सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ। मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ।

    आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन गई मानिस सदाका लागि अन्धोसमेत हुन सक्छ। सूर्यग्रहण नाङ्गो आँखाले कहिले पनि हेर्नु हुँदैन। सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ।

    ग्रहण हेर्न बनाइएको विशेष चस्माको प्रयोग गरी ग्रहण हेरेमा कुनै नोक्सानी हुन्न। सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यविम्बको प्रतिविम्ब बनाई छाया हेर्नु नै हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार