Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्ती नदीले खतराको विन्दु नाघ्याे


    आइतबार, असार ७ २०७७
    920
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • नेपालगञ्ज, । दाङ, रोल्पा, प्युठान र बाँकेमा शनिबार बिहानैदेखि लगातार भइरहेको वर्षाले राप्ती नदीमा पानीको सतहले ‘खतराको विन्दु’ पार गरेर धेरै माथि बगिरहेको छ । राप्ती नदीमा पानीको सतह ५.४० मिटर भन्दा बढी पुगेपछि खतराको निशान पार गरेको मानिन्छ ।
    शनिबार बेलुका ६ः४५ बजे नदीको सतहले ५.७४ मिटर पार गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
    उहाँले साँझ पौने सात बजेतिर नदीको सतहले ५.७४ मिटर पार गरेकोले बाढीको ठूलो खतरा देखिएको जनाउनुभयो । पानीको सतह ६ मिटर पुगेपछि राप्तीमा बाढी आउने र सो बाढीले बाँकेका धेरै ठाउँमा क्षति पुर्याउने छ ।
    प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले कुसुममा रहेको सो बाढी मापन केन्द्रबाट बाढीसहितको नदी होलियासम्म पुग्न करिब चारदेखि पाँच घण्टा लाग्ने भएकोले तत्काल खतराको साइरन बजाइएको बताउनुभयो ।
    साइरन बज्नेबित्तिकै नदी पस्ने सम्भावित क्षेत्रका बासिन्दाहरू सुरक्षित स्थानमा जान थालेको उहाँले बताउनुभयो । उहाँका अनुसार विभिन्न एफएम रेडियो र अन्य माध्यमबाट सम्भावित खतरामा रहेकाहरूलाई अग्लो ठाउँमा जान सूचना तथा जानकारी दिने काम गरिएको छ ।
    जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत गौरी बुढाथोकीले नदीको सतहले खतराको विन्दु पार गरिसकेकाले बाढी पस्ने सम्भावित क्षेत्रहरूमा साइरन बजाइएको जानकारी दिनुभयो । उहाँका अनुसार राप्तीसोनारी गाउँपालिकाका १ देखि ७ सम्मका वडाहरू, डुडवाका १ देखि ३ र नरैनापुरका ५ र ६ नम्बर वडा अत्यधिक जोखिममा रहेका छन् ।
    नदी मापन केन्द्र रहेको कुसुमबाट होलियासम्म पानी आउन करिब चारदेखि पाँच घण्टा लाग्ने बुढाथोकीले बताउनुभयो ।
    राप्ती नदीमा पानीको सतह ५.४० मिटर पुग्दा फत्तेपुर, होलिया, बेतहनी, कम्दी, गङ्गापुर, नरैनापुरमा डुबान हुने गर्दछ । अहिले नदीको सतहले ५.७४ मिटर पार गरिसकेकोले ती क्षेत्रमा डुबान हुने निश्चित भएको छ ।
    भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँधका ढोकाहरू समयमा खोलिदिँदा डुबानको जोखिम कम हुन्छ । तर, बाँधको ढोकाहरू खोल्दा आफ्नो देशमा डुबान हुने भएकाले भारतले ढोका खोल्दैन, जसले गर्दा बाँकेमा डुबान हुँदैआएको छ ।
    जिल्ला आपतकालीन कक्षले उद्धार सामाग्रीसहित उद्धार टोलीलाई राप्तीसोनारी, डुडुवा र नरैनापुरमा सतर्क अवस्थामा राखेको जानकारी दिएको छ ।
    नदी वरिपरिका गाउँमा पानी पस्ने अवस्था आउनेबित्तिकै उद्धार टोली गाउँमा पुगिसक्ने गरी तयारी अवस्थामा रहेको अधिकारीहरूले बताएका छन् ।
    राप्ती नदीले खतराको सङ्केत पार गरेर माथि बग्न थालेको जानकारी साइरनमार्फत आउनेबित्तिकै सम्भावित सबै क्षेत्रमा चेतावनी जारी गरेर सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताउनुभयो ।यो समाचार गोरखापत्र दैनिकमा सिरजखानले लेखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार