बीरगंज । भारतसंग खुल्ला रुपमा जोडिएको सिमा क्षेत्र रहेको पर्सामा अहिले निर्वाधरुपमा भन्सारछली तस्करी फस्टाउँदा नेपाल सरकारले पाउनुपर्ने करोडौं राजस्व गुमिरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी रमेश बस्नेतको आगमनसँगै यतिबेला पर्सा जिल्लामा दिनदहाडै अबैध तस्करी धन्दा फस्टाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
मासिक मोटो रकम नजराना बुझी पर्साको नमुदत,लालबाचा, मदन रुन्चे, जटाधारी र मोछुलाई कपडाको लाइन दिइएको छ । बिबेक, रञ्जित, सुकेशले कपडाका अलावा जुत्ता चपलको लाइन पाएका छन् । मञ्जु पटेललाई भेटनरी र हार्डवेयर अवैध रुपमा ल्याउन छुट दिइएको छ । मनोजलाई मोबाइल पाटर््र्स र इलेक्ट्रोनिक समानका अतिरिक्त मोटरपार्टस्को लाइन दिइएको समाचार स्रोतले जानकारी दिएको छ । कपडाका सबैभन्दा ठूला तस्करका रुपमा चिनिन्छन् ।
धनुषाको एसपी हु्ँदा सई जीवन सुवेदीसहितका घुमुवा परिचालन गरी कुस्त रकम असुली गर्न पल्किएका एसपी बस्नेत नेपाली कांग्रेसका नेता बिजय गच्छदारका निकट मानिन्छन् । गच्छदारकै कृपाले उनी अहिले पर्साको प्रहरी प्रमुखमा सरुवा हुन सफल भएका हुन् । पर्साका प्रहरी प्रमुख बस्नेतले जानासाथ तस्करीको लाइन दिएर अतिरिक्त आम्दानी गर्ने कार्यलाई अगाडि बढाएका छन् ।
उनले कपडा, मोटरपार्टस लगायतका सामान भारतबाट नेपालतर्फ तस्करी गरी ल्याउन छुट दिने त गरेकै छन्, यसबाहेक भारतबाट नेपालमा भैंसी तस्करी गराउने मुख्य तस्कर महादेव र जाहूललाई पनि लाइन दिएका छन् ।
पर्साको, इनर्वा गाउँ, इनर्वा भन्सार, छपकैया, धोरे, पकहा, खेस्राहा, सबैठ्वा, भिस्वा, पाँडेपुर, पिडारी गुठी, महादेवपट्टी, सुवर्णपुर, विजयबस्ती लगायतका स्थानबाट दैनिक लाखौँ मूल्य बराबरको सुपारी, केराउ, मरीच, चीनमा बनाइएको युनिलिभर उल्लेख गरिएको नक्कली फेयर एण्ड लब्ली, क्लोजअप दन्तमन्जन जस्ता कस्मेटिक सामान,पेट्रोलियम पदार्थ, नेपाली मदिरा, कबाड, गाँजा, नेपालबाट भारततर्फ तस्करी गर्न छुट दिएका छन् । स्थानीयका अनुसार भारतबाट लत्ताकपडा, खाद्यान्न, दैनिक उपभोग्य वस्तु, माछा, कम्प्युटर तथा गाडीका पार्टपूर्जा, पशुचौपाया, मोटरपार्टस्, भाँडा, सुर्र्तीजन्य पदार्थ, सौन्दर्य प्रशाधन सिमेन्ट, चिनीलगायतका सामानहरू भन्सार छली गरी नेपाल भित्रने गरेका छन् ।
पर्साको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको एरियामा अबैध गाँजाखेती गर्नेहरुलाई पनि प्रहरीले देखेको नदेख्यै गरेको छ । पटेर्वाबाट गाँजा तस्करीको समेत अबैध कारोबारमा पर्सा प्रहरीको संरक्षण रहेको आरोप छ । स्रोतका अनुसार पर्सा प्रहरीले साना ठूला सबै तस्करहरुलाई लाइन दिएपछि तस्करी फस्टाएको हो । तस्करीमा आँखा चिम्लिएबापत पर्सा प्रहरी प्रमुखसहित सम्बन्धित नाकाका इञ्चार्जहरुले हिस्सा लिने गरेका छन् । प्रहरी उपरिक्षक बस्नेतले ठूला तस्करलाई लाइन दिएपछि सोबाट हौसिएका पर्साका सीमाक्षेत्रका प्रहरी चौकीका इन्चार्जहरुले साना झोलेपोके तस्करलाई छुट्टै लाइन प्रदान गरी रकम असुलीमा व्यस्त भएका छन् ।
एसपी बस्नेतले तस्करीको लाइन चलाउन र घुस असुलीका लागि आफ्ना प्रियपात्र र उनीसँग विगतमा धनुषाको एसपी हुँदा सँगै काम गरिसकेका नजिकका जुनियर अधिकृतहरुलाई इन्चार्ज पठाई खुलेआम रुपमा तस्करी संचालन गरिरहेको स्रोतको भनाइ छ । एसपीको निर्देशनमा प्रदान गरिएको ठूलो तस्करीको लाइनलाई संरक्षण प्रदान गर्ने मुख्य उद्देश्य रहेको जिल्ला प्रहरी कार्यालय पर्सा स्रोतले जनाएको छ ।
पर्साको ग्रामीण क्षेत्रको पश्चिमी उत्तरी भेगको पाण्डेपुर र पिडारी नाकाबाट महादेव र जाहूलले राँगा, भैंसी व्यापक मात्रामा नेपालतर्फ ल्याइरहे पनि प्रहरी प्रशासनले बेवास्ता गर्ने गरेको थानीय बासिन्दाहरु बताउँछन् । एक भैंसी ब्यापारीले प्रहरीकै रेखदेखमा आफूहरुको भैंसी सुरक्षित रुपमा जगरनाथपुर भैंसी हाटबजारसम्म पुग्ने गरेको बताए । उनका अनुसार भारतका बिभिन्न ठाँउबाट भैंसी, राँगा किनेर पाण्डेपुर पिडारी नाकाबाट आउने गरेको र त्यसबापत प्रहरीले मासिक रुपमा रकम उठाउने गरेको बताए ।
सीमा क्षेत्रबाट हुने अवैध माल समानको तस्करी रोक्न सक्रिय निकाय नै भ्रष्ट भएपछि अहिले पर्सामा भन्सारछली बढेको छ । एसपी रमेश बस्नेत प्रहरी संगठनका निकै पावरफूल एसपी हुन् । उनी प्रदेश २ को धनुषामा प्रमुखको रुपमा काम गरिसकेकाले के कसरी तस्करी हुन्छ भन्ने जानकार र अनुभवी मानिन्छन् । एसपीको योजना अनुसार तस्करी कार्य गराउन मुख्य भूमिका निभाउने खेलाडी भने जिप्रका क्राइम शाखाबाट खटेका प्रहरी जवान लालबाबु साह हुन् । उनी बिगत आठ बर्षदेखि दरबन्दी जहाँ भएपनि पर्सा जिल्लामै घुमुवाको रुपमा परिचालित रहेका छन् ।
एसपी बस्नेत धनुषामा कार्यरत हुँदा एसपी बस्नेतको प्रियपात्र बनेका धनुषाको जटही चौकी र दुबही चौकी बसेर तस्करीमा निकै बदनामी कमाएका विवादित सई जीवन सुवेदीलाई एसपी बस्नेतको पर्सा जिल्लामा आएको १ महिना नबित्दै अहिले पर्साको अखडाको रुपमा चिनिने भिस्वा चौकीमा पठाई तस्करी खुलाएका छन् ।
त्यस्तै अनुशासनहीन र विवादित असई बिटु सिंहलाई वीरगंजको इनर्वा गाउ चौकीमा पठाएका छन् । बिटु सिंह पावर लगाएर सिमानाकाकै युनिटहरुमा बसी घरीघरी विवादमा पर्ने असई हुन । सिंह मिर्जापुर चौकीमा हुँदा नेपाली गिटी तस्करी काण्ड र सबैठ्वा चौकीमा हुँदा लकडाउनमा अबैध भट्टी संचालन तथा तस्करी गराई घ्ुुस उठाएको विवादको पनि धेरै संचारमाध्यममा उजागर भएको थियो ।