काठमाडाैं । काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका विद्यार्थीले चिट चोर्न नदिएको भन्दै शिक्षकलाई कुटेका छन् ।
स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका कुवेर जेठाराले सो कलेजका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् ।
चिट चोरिरहेको फेला पारेपछि गार्ड बसेका शिक्षकले विद्यार्थी कुवेर जेठारालाई परीक्षा हलबाट बाहिर निकालेका थिए ।
विवाद भएपछि शिक्षक तथा विद्यार्थीबीच सहायक क्याम्पस प्रमुखको कोठामा छलफल पनि गरिएको थियो ।
त्यही बेला विवाद हुँदा विद्यार्थी जेठाराले सहायक क्याम्पस प्रमुख प्रकाश पुडासैनीकाे टाउकोमा पानी पिउन प्रयोग हुने स्टिलको जगले प्रहार गरेको प्रत्यक्षदर्शी एक शिक्षकले बताए ।
ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्यु) पढाउँदै आएका पुडासैनीको टाउकोमा चोट लागेपछि उनलाई बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचारका लागि भर्ना गर्न गरिएको छ । उनको टाउकोमा सात वटा टाँका लगाइएको छ।