काठमाडौं । दुई बर्षअघि २०७६ मा स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको समयमा स्थानीय तहमा पठाइएकाहरुले खटाएको ठाउँमा नजान र वीर अस्पतालको स्टोर र खरिदमा बसेर अनियमितता गर्नेहरुको बिगबिगी पछिल्ला दिनमा झन् बढेको छ ।
स्थानीय तहमा समायोजन भैसकेकाहरुले फर्किनका लागि जटिल रोग लागेको भन्दै वीर अस्पताल मेडिकल बोर्डबाट नककली सिफारिस बनाई मन्त्रालयमा पेश गरेका थिए । समायोजन हुँदा प्रदेश तथा स्थानीय तहमा समायोजन भएर गएका निजामती कर्मचारीले संघमै रहनका लागि मेडिकल बोर्डबाट कीर्ते कागजपत्र तयार गरेका थिए । जटिल रोग लागेको कीर्ते कागजपत्र बनाउनेहरु वीर अस्पतालको भन्सार भनेर चिनिनेहरु अहिले पनि स्टोर र खरिदमा बसेर तर मारिरहेका छन् ।
कर्मचारी समायोजन ऐनको दफा ८ मा समायोजनको आधारका बारेमा ब्याख्या गरिएको छ । दफा ८ को ४ मा उल्लेख छ–‘माथि जेसुकै लेखिएको भएता पनि नेपाल मेडिकल बोर्डले कडा र जटिल रोग लागेको भन्ने सिफारिस गरेको अवस्थामा सम्बन्धित मन्न्त्रालयले कर्मचारीले रोजेको ठउँमा राख्न सक्छ ।’ ऐनको यो बुँदालाई आधार मानी मेडिकल बोर्डबाट रोगै नलागे पनि कडा रोग लागेको सिफारिस गराउँदै ती कर्मचारीहरु समायोजन भएका स्थानीय तहमा हालसम्म पनि गएका छैनन् । रोगै नलागे पनि कडा रोग लागेको कागज बनाएर उनीहरु बीर अस्पतालको स्टोरमा बसी खरिदमा करोडौं घुस खान तल्लीन छन् ।
चिनेको चिकित्सकबाट कडा रोग लागेको प्रेस्क्रिप्सन बनाउने र त्यही पेश गरी मेडिकल बोर्डबाट खटाएको ठाउँमा नजाने प्रवृत्तिको समायोजनाको समयमा चर्चा भएको थियो । तन्दुरुस्त र कुनै रोग नलागेका कर्मचारीले पनि बोर्डबाट सिफारिस पेश गरेका छन् ।
बोर्डबाट कडा रोग लागेको सिफारिस गराइदिने बीचौलियाहरुको संजाल अहिले पनि वीर अस्पतालमा जरा गाडेर बसेको छ । त्यो संजालले प्रतिब्यक्ति ३ देखि ३ लाख ५० हजार रुपैयाँ खर्च गरी सिफारिस बनाउने गरेकोे छ । वीर अस्पतालका निर्देशकको अध्यक्षतामा रहेको तीन सदस्यीय बोर्डले क, ख र ग गरी तीन किसिमका सिफारिस गर्दछ । क वर्गको सिफारिस बिदेश उपचारमा जानका लागि दिने गरिन्छ । ख वर्गको सिफारिस जटिल रोग लागेकाले चिकित्सकको निगरानीमा बस्नुपर्ने भन्ने हुन्छ । ग वर्गमा आर्थिक सहायताका लागि सिफारिस गर्दछ ।
‘तीन सदस्यीय बोर्डबाट सिफारिस गरिएका ९५ प्रतिशत कर्मचारीको एकपटक पुनः जाँच गरेमा त्यो रोग लागेको भेटिने छैन’ मेडिकल बोर्डमा कार्यरत एक कर्मचारीले बताए । बोर्डबाट सिफारिस लिनेमा वीरकै १५ जना भन्दा बढीे स्वास्थ्य समूहका कर्मचारी छन् । स्रंोतका अनुसार यी स्वास्थ्यका कर्मचारीमध्ये ९५ प्रतिशत फर्जी बिरामी फेलापर्नेछन् । तन्दुरुस्त भएर पनि नक्कली बिरामी बनेकाहरुको पुनः एकपटक स्वास्थ्य जाँच गर्ने हो भने बोर्डको बदमासी छर्लङ्ग हुनेछ ।
कीर्ते सिफारिस बनाउने वीर अस्पतालका कर्मचारीहरुमा अहेब विष्णु फुयाँल, सविता जोशी, टीकाराम पनेरु, युवराज सुवेदी, डिल्लीराम आचार्य, जीवनकुमार श्रेष्ठ, डिल्लीराम खनाल, अरुणकुमार महतो, शंकर झा लगायत छन् । यिनीहरु दैनिकरुपमा भक्तपुर, बालाजु, बुढानीलकन्ठ जस्ता स्थानबाट पल्सर मोटरसाइकलमा आउँछन् । दिनमा दसौं पटक वीर अस्पतालको चार तला उक्लने र झर्ने गर्दछन् । अस्पतालले आयोजना गरेको खेलकुद कार्यक्रममा भाग लिन्छन् । तर उनीहरुले कडा रोग लागेकाले डाक्टरको निगरानीमा रहनुपर्ने मेडिकल बोर्डको सिफारिस पेश गरेका छन् । र, स्थानीय तहमा नजान उनीहरुले यस्तो झुटो बिरामीको नाटक गरेका छन् । कीर्ते कागजात बनाउनेमाथि प्रहरी प्रशासनले फौजदारी अपराधमा कारबाही गर्ने गर्दछ । तर वीरका यी कीर्ते बिरामीको कागजात बनाउनेहरुमाथि भने सीआइबीको नजर पर्नसकेको छैन ।
अस्पतालमा तलबबाहेक ५० प्रतिशत भत्ता पाइने लोभमा दरबन्दी नै नभएको ठाउँमा पनि बोर्डको सिफारिस बनाएर उनीहरु बस्न खोजेको स्रोतको दाबी छ । अस्पतालमा हाल ९ जना मात्र अहेवको दरवन्दी छ तर हाल ३६ जना कार्यरत छन् ।
वीर अस्पतालका अहेब टीकाराम पनेरुलाई सामान्य ढाड दुख्ने समस्या पनि छैन । उनी हरेक दिन वीर अस्पताल आउने जाने गर्छन् । पनेरुले ढाड खिइएको र लामो समयसम्म हिँड्न र उभिन नमिल्ने भनेर रिपोर्ट बनाएका छन् । उनीहरूलाई कांगे्रस निकट स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरेले स्वास्थ्य मन्त्रालयको मा पहुँच वीर अस्पतालमै राखी मेडिकल स्टोरको जिम्मा दिलाइराखेका छन् । पनेरु हाल विभिन्न मेडिकल ब्यापारीसँग बिभिन्न नाममा चन्दा उठाइरहेका छन् ।
पनेरुअहिले प्रधानमन्त्री कार्यालयमा कार्यरत उपसचिव जनक भट्टको नाम लिदै चन्दा उठाइरहेका छन् । उनी वीर अस्पतालकै निर्देशकलाई समेत टेर्दैनन् । उनले वीर अस्पतालको सरसफाइको टेन्डर पनि आफूनिकटलाई दिलाई अस्पतालको सुपरभाइजर पनि नजिकका मिनालाई बनाएका छन् । केही दिनपहिले अस्पतालले सुरक्षा गार्डका लागि टेण्डर गरेको थियो । पनेरुले अग्रिम घुस लिएको कम्पनीलाई दिन अस्पताल प्रशासनलाई दबाब दिएका थिए । आफ्नो सेटिङको सेक्युरिटी कम्पनीलाई दिन नपाएपछि उनले सो ठेक्का नै रद्द गराएका छन् । अग्रिम २५ लाख रुपैयाँ घुस लिएको कम्पनीलाई टेण्डर नदिए भएपछि टेण्डर रद्द गराएको आरोप पनेरुमाथि लागेको छ ।
पनेरू कतिसम्म अनियमितता गर्दछन् भने अस्पतालको फार्मेसीमा म्याद सकिन लागेको ९० लाखको औषधि विनाआदेश मगाएर म्याद सकिएपछि सो औषधिलाई फिर्ता नगरी अस्पताल निर्देशक र प्रशासनलाई ब्यापारीलाई भुक्तानी दिन दबाब दिइरहेका छन् । उनको उद्देश्य अस्पताल सुधार भन्दा अस्पतालको स्रोत साधनमा ब्रम्हलुटमा मात्र रहेको निर्देशकको कार्यालय स्रोत बताउँछ । मेडिकल स्टोरमा अनियमितता गर्न उपसचिवले रोकेका कारण पनेरु अहिले उनकै सरुवा गर्न लागेको अस्पताल स्रोत बताउँछ । उनलाई मेडिकल बोर्डको नक्कली सिफारिस वनाएको भन्दै कारबाही गर्न प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय र अख्तियारमा समेत उजुरीसमेत परेको छ ।
पनेरु वीर अस्पतालको मेडिकल स्टोर प्रमुख छन् । उनले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागबाट अनुदान आउने औषधि र उपकरणहरूको पनि विल बनाएर करोडांै रकम भ्रष्टाचार गरेको स्टोर स्रोत बताउँछ । पनेरुले नेपाली कांग्रेसको महाधिवेशनका लागि भनेर मेडिकल ब्यवसायीसँग लाखौं रकम चन्दा उठाएर आफैंले चप्काएको आरोप छ ।
पनेरुले कोभिड भ्याक्सिन लगाउँदा पैसा लिएर लगाएको आरोप पनि लागेको छ । उनले निःशुल्क पाउने खोप वनस्थलीको अर्किड क्याफेबाट लगाउने गरेको समेत उजुरीसमेत छ । उनलाई अघिल्लो कार्यकालमा सामाजिक एकाईमा रहँदा बिभिन्न नर्सिङ कलेजसँग पैसा लिंदै तालिम गराउन दिएको, विमाको रकम अनियमिता गरेको पनि आरोप छ । पनेरुलाई रमाना दिन अस्पतालमा आवाज बुलन्द भएको छ तर अस्पतालले हालसम्म उनलाई रमाना दिनसकेको छैन ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend