Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घुसकाण्डमा डिल्लीबजार मालपोतका प्रमुख विभाग तानिए


    बिहिबार, असार ४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मालपोत प्रमुख गोविन्द अधिकारी

    काठमाडौँ । प्रशासकीय अधिकृत रघुबंश कँडेलसहित ५ जना कर्मचारीलाई ८ लाख ५० हजार रुपैयाँ घुस लिंदालिंदै मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएपछि भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौँका कार्यालय प्रमुख गोविन्द अधिकारीलाई पनि तानिएको छ । कार्यालय प्रमुखका रुपमा अधिकारीको फितलो नेतृत्वका कारणा घुसकाण्ड घटेपछि भूमि ब्यवस्थापन तथा अधिलेख विभागले उनलाई तानेको छ ।

    नेतृत्व क्षमता नभएका कार्यालय प्रमुख अधिकारीका कारण लकडाउन खुलेको दोस्रो दिनमै ८ लाख ५० हजार घुस लिंदालिंदै कर्मचारीलाई अख्तियारले नियन्त्रणमा लिएको थियो । चावहिल मालपोत कार्यालयमा कार्यरत रहँदा नै कार्यालय सहयोगी राजेन्द्र बस्नेतमार्फत् छुट जग्गा दर्तादेखि धेरै काण्डमा मुछिएका उनले मालपोत कार्यालय डिल्लीबजारमा गएपछि पनि कमाउधन्दालाई नै प्रश्रय दिएका थिए । कित्ताकाट सरकारले रोकेको छ । तर प्लटिङवाला र मालपोतका कर्मचारीको मिलेमतोमा अदालतमा मुद्दा हाल्दै १५ दिनमा आदेश गराएर कित्ताकाट गर्ने क्रम बढेको छ ।

    जग्गा ब्यवसायीलाई धेरै जनाको नाममा जग्गा किन्न लाउने र एकपछि अर्को मुद्दा हाली अदालतबाट आदेश ल्याउँदे कित्ताकाट गर्ने क्रम अहिले मालपोतमा ह्वात्तै बढेको छ । त्यही कित्ताकाट गर्ने भनेर ४८ लाख घुसको रेट मिलाएर ८ लाख ५० हजार पहिलो किस्ता लिंदा मंगलबार अधिकृत कँडेलसहित ५ जना पक्राउ परेका छन् । स्रोतका अनुसार कित्ताकाटका नाममा मालपोत र नापी कार्यालयमामा हुने गरेको करोडौंको घुसखोरीका बारेमा पनि अख्तियारले छानबिन गर्ने हो भने कार्यालय प्रमुख अधिकारी पनि कारबाहीको दायरामा आउनसक्छन् ।

    जग्गाको कित्ताकाट गर्न आदेश गराइदिएबापत सेवाग्राहीबाट ८ लाख ५० हजार रकमसहित घुस लिइसकेको अवस्थामा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौँका अधिकृत रघुवंश कँडेल, नायबसुब्बाहरु क्रमशः उद्धव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाललाई सामाखुसी चोकस्थित स्काई पार्टी प्यालेस अगाडिबाट अख्तियारको टोलीले पक्राउ गरेको थियो । उपसचिव अधिकारी चावहिलमा हुँदै विवादमा परेका भए पनि तत्कालीन भूमिब्यवस्था मन्त्रालयका सचिव गोपी मैनालीले उनलाई मन्त्री पद्मा अर्याललाई समेत थाहा नदिई पठाएका थिए । मन्त्री अर्यालले पछि किन पठाएको भनेर सोध्दा उनले सज्जन भएकाले पठाएको जवाफ दिएका थिए । तर मैनालीले पूर्वअर्थसचिव शंकर अधिकारीको भनसुनमा उनलाई डिल्लीबजारमा पठाएका थिए । उपससचिव अधिकारी पूर्वसचिव शंकर अधिकारीका भाइ हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार