काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको इस्तानबुलमा २०७८ मंसिर ७ देखि ९ गतेसम्म संचालन हुने इन्टरपोलको ८९औं महासभामा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
National Central Bureau (NCB) नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक थापा क्षेत्रीसँग महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान समेत त्यसतर्फ गरेका छन् ।
निमित्त आइजीपी प्रकरणः तिक्तता छताछुल्ल
आइजीपी क्षेत्रीले आफ्नो अनुपस्थितिमा निमित्त आइजीपीको जिम्मेवारी एकेडेमीका प्रमुख एआइजी निरजबहादुर शाहीलाई दिएका छन् । निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी पाएका शाहीले हालै सरुवा तथा काज भई आ–आफ्नो कार्यक्षेत्रमा जान लागेका डीआइजीदेखि प्रहरी निरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमबीच निर्देशन दिए ।
आइजीपी क्षेत्रीले निमित्त आइजीपीको जिम्मेवारी शाहीलाई दिएपछि महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी हरिबहादुर पाल असन्तुष्ट भएका छन् । यसअघि २०७८ कात्तिक २५ मा भारत भ्रमणमा जाँदा निमित्त आइजीपीको जिम्मेवारी प्रहरी प्रधान कार्यालयमै कार्यरत अपराध अनुसन्धान विभागका प्रमुख एआइजी प्रद्युम्न कार्कीलाई दिइएको थियो ।
यसअघि प्रहरी प्रधान कार्यालयकै कार्कीलाई निमित्त दिइएको तर्क गरे पनि यसपटक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान(एकेडेमी)का शाहीलाई दिएकाले बरिष्ठ एआइजी पाल असन्तुष्ट भएका छन् । कार्की पनि इन्टरपोलको बैठकमा आइजीपी सँगै गएकाले एकेडेमीका प्रमुख शाहीले निमित्त पाएका छन् । यसले प्रहरीमा आइजीपी क्षेत्री र एआइजी पालबीच तिक्तता बढेको प्रष्ट देखाएको छ ।
सर्वेन्द्र खनाल आइजीपी हुँदा एआइजी पुस्कर कार्कीसँगको तिक्तताले कनिष्ट एआइजीलाई निमित्त दिएर विदेश जाने गरेका थिए । क्षेत्रीले पनि पालसँगको तिक्तता बढेपछि त्यही सिको गर्दै कहिले प्रद्युम्न कार्की र अहिले शाहीलाई दिएका छन् । प्रहरी प्रधान कार्यालयभित्रैबाट दिंदा मानवस्रोत तथा प्रशासन विभागका एआइजी विश्वराज पोखरेलले पाउँथे । तर पोखरेललाई पनि निमित्त नदिई शाहीलाई दिइएको छ । यसअघि कार्कीलाई निमित्त दिंदा बरिष्ठ एआइजी पाल र शाही बिदामा बसेका थिए । अहिले भने पाल बिदामा बसे नबसेको खुलेको छैन ।
नयाँ सरकार गठन हुनासाथ एआइजी पालले आइजीपी क्षेत्रीलाई असहयोग गर्न सुुरु गरे । हरेक आर्थिक बर्षको सुरुमा हुनुपर्ने लेखापाल र लेखा अधिकृत सरुवा नै पालले गृहमन्त्रीलाई हुँदैनभएको कुरा लगाएर रोकेपछि आइजीपी क्षेत्री रुष्ट भएका थिए । प्रहरीका सईदेखि एसएसपीको सरुवा बढुवामा पनि पालले गृहमन्त्रीलाई पोल लगाएर रोकेको सूचना क्षेत्रीले पाए । हुँदाहुँदा आइजीपी क्षेत्रीलाई हटाउनै तम्सेपछि पालको हर्कतबाट उनी रुष्ट भएका थिए । जसका कारण विदेश जाँदा पनि उनले निमित्तको जिम्मेवारी पाललाई नदिई कहिले कार्की त कहिले शाहीलाई दिएका छन् ।