काठमाडौँ । उपत्यकाका काठमाडौं र ललितपुर परिसरका प्रमुख (एसएसपी) परिवर्तन भएको समाचार सार्वजनिक भयो । केही बेरपछि एसएसपी किरण बज्राचार्य हेडक्वाटरमा र यज्ञविनोद पोखरेल ललितपुर परिसरमा सरुवा भएको तर काठमाडौंका एसएसपी परिवर्तन नभएको प्रहरी प्रवक्ता वसन्त कुँवरको भनाइ सार्वजनिक भयो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहको एक महिनाअघि भएको काजसरुवा मंसिर ७ पछि मात्र कार्यान्वयन हुने भएको छ । २०७८ कात्तिक १० मा उनको काजसरुवा भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा भएको थियो । गृहमन्त्री बालकृष्ण खाँणले सरुवा गरिसकेपछि एसएसपी सिंहले बालुवाटारमा पहुँच पुर्याई एक महिनाका लागि उनको सरुवा रोकिएको थियो । उनलाई बालुवाटारको पहँुँच प्रयोग गर्न लगाउने महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी हरिबहादुर पालले गरेका थिए । काठमाडौं परिसरका प्रमुख सिंह र एआइजी पालबीच घनिष्ठ सम्बन्ध छ ।
उनको सरुवा भएको २०७८ मंसिर ५ मा १ बर्ष पुगेको छ । संभवतः मंसिर ७ मा उनी सरुवा भएको ठाउँ भैरहवा जाने संभावना छ । प्रधानमन्त्रीसम्मै पुगेर सरुवा रोकेका कारण गृहमन्त्री खाँण एसएसपी सिंहसँग रुष्ट भएका छन् । काठमाडौं परिसरमा सीआइबीमा कार्यरत एसएसपी सुदिप गिरीको सरुवा भएको थियो । यद्यपि प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले पछिल्लो समयमा काठमाडौं परिसरमा जान निकै कसरत गरिरहेकाले गिरीको संभावना टर्दै गएको चर्चा पनि छ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी पालले अशोक सिंहको एक महिनाअघि भएको सरुवा रोके पनि अहिले भने उनले थाम्न सक्ने अवस्था छैन । पाल समेतको मिलेमतोमा परिसरको भवन निर्माणको ठेक्का लिएको समानान्तर निर्माण सेवा प्रालिका संचालक अच्यूत खरेलले टेण्डरमा उल्लेख भएबाहेक पनि फायर फाइटिङ सहित विविध निर्माण नसमेटिएको भन्दै १० करोड थप गरेबापत भागशान्ति गरिएको स्रोत बताउँछ । अबैध हुन्डी र डलरका डन तरुण खेम्का, बिमल पोद्दारहरुको संरक्षण पनि पालकै निर्देशनमा हुँदैआएको छ । पालको नेतृत्वमा हुन्डी र डलरको कारोबार काठमाडौंमा मौलाएको छ ।
त्यसैगरी २०७७ मंसिरमा गाेंगबुमा भएको ३० तोला सुन लुटपाट प्रकरणमा पनि सई नवराज इटनीलाई फसाएर महाराजगंज बृत्तका तत्कालीन डीएसपी रोशन खड्कालाई जोगाइएको थियो । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक, डीएसपी खड्कासहित काठमाडौं परिसरको सेटिङमा सुन तस्करी गर्ने गिरोहकै पर्दाफास भएपछि उक्त प्रकरण ढिसमिस पारिएको थियो । यम कुँवरलाई पक्राउ गरी उल्टै सुन तस्करलाई जोगाउन सई इटनीलाई नै फसाइएको थियो ।
सुन लुट्ने दीपक नेपालीलाई सुनसहित नयाँबसपार्क प्रहरीले महाराजगंज बृत्तमा बुझाएको र राति नै लुटेरा छाडिएको थियो । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले नै सुन लुटपाटमा संलग्नमाथि अनुसन्धान भइरहेको प्रतिक्रिया दिएका थिए । तर २०७७ मंसिर ६ मा सुन बरामदै नभएको भनी बयान गराइएको थियो ।
लुटिएको सुन बृत्तमा बुझाउने सई इटनी हिरासतमा पर्नु, पीडितहरुले सुन लुटिएको होइन भनेर बयान फेरिनुलाई नै रहस्यका रुपमा लिइएको थियो । लुटिएको सुुनसहित नेपालीलाई बुझाएको समाचार आएपछि पीडितहरुलाई बयान नै फेर्न लगाउने काम डीएसपी खड्काले गरेका थिए । बिल नभएको भनी लुट्ने नेपालीलाई छाडेर सुन गायब बनाएको आरोप डीएसपी खड्कामाथि लागेको थियो । भिजिट भिसामा एयरपोर्ट सेटिङ गरी कुवेतमा महिला(हाउसमेड) पठाउने लुलु ओभरिसजका शेषकान्त गिरीसँग पनि काठमाडौं परिसरका हाकिमहरुले लाभ लिने गरेको स्रोतले बताएको छ ।