बीरगञ्ज । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले भैसी बोकेको ट्रक नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका भैंसी अवैध रुपमा भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याई पर्साको जगरनाथपुर गाउँपालिका वडा नः ७ झखरा सन्ठी गाउँमा जम्मा गरिएको थियो । झखरामा जम्मा गरेर भैंसी लोड गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।
सीमा क्षेत्रमा पर्ने जगरनाथपुर गाउँपालिकाको वडा नम्बर ४ मा पर्छ झखरा गाउँ । जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाका छोराले केही महिनादेखि पशुबजार लगाइरहेका छन् । गाउँपालिका अध्यक्षको छोरा जाफिर मियाँले भारतबाट अवैध रुपमा भैंसी ल्याउने र नेपालका विभिन्न सहरमा पठाउने गरेको आरोप छ । बिहीबार राति ८ बजे भारतबाट अवैध रुपमा ल्याइएका भैंसी नियन्त्रणमा लिएपछि जालिमका छोराको भैंसी तस्करीको पोल खुलेको छ ।
जगरनाथपुर गाउँपालिकाको वडा नम्बर ४ मा पशुबजार रहेको तर वडा नम्बर ७ झखरा सन्ठीगाउँमा लोड गरिरहेको अवस्थामा प्रहरीले भैंसी नियन्त्रणमा लिएको थियो । भैसी बजारका संचालक र भारतबाट ल्याउने तस्करसँग मिलेमतोमा नेपालमा भैंसी तस्करी हुँदैआएको छ ।
पशुबजारको नियम अनुसार बजारमा किनबेच गरी बिल बिजक बनेको पशुलाई अन्यत्र लोड नगरी त्यही बजारबाट नै लोड गर्ने नियम रहेको छ तर तस्करहरुले बजारका संचालक गाउँपालिका अध्यक्ष जालिमका छोरासँग मिलेमतो गरी त्यहीँबाट बिल खरीद गरी नियम विपरीत लोड गर्ने गरेका छन् । त्यही क्रममा प्रहरीले भैंसी नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका भैंसी र ट्रक भन्सार कार्यालय वीरगंजमा पठाउने तयारी भइरहेको पर्साका डीएसपी ओमप्रकाश खनालले जनकारी दिए ।
भैंसी तस्करी भन्सारका केही हाकिम र पशुबजारका संचालक जगरनाथपुर गाउँपालिका अध्यक्षको छोरा जाफिर मियाँको मिलेमतोमा भइरहेको स्रोतको दाबी रहेको छ । प्रहरीले भन्सारछली गरी भारतबाट ल्याएका भैंसी नियन्त्रणमा लिए पनि भन्सारका केही हाकिम र पशुबजारका संचालक जाफिरसँग मिलोमतो रहेका कारण छोड्ने गरेका छन् । पक्राउ परेका ट्रक र भैसी छुटाउन जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मिया र जसपाका प्रदेश सभा सांसद सिंहासन साह कलवार लागेका छन् । जालिम र कलवारले भन्सार कार्यालय बीरगंजका हाकिमलाई उनीहरुले दबाब दिइरहेका छन् ।