Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्रीले मागे मन्त्री यादवको राजीनामा


    सोमबार, कार्तिक २९ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन मन्त्रिपरिषद् पुनर्गठनकाे तयारी गरेका छन् ।त्यसका लागि उनले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश यादवलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेका छन् ।

    स्रोतका अनुसार मुख्यमन्त्री राउतले काठमाडाैं जानुअघि आइतबार यादवलाई निवासमा बोलाएर मन्त्रीबाट राजीनामा दिएर सरकारलाई सहयोग गरिदिन आग्रह गरेका हुन् । मन्त्री यादवले राजीनामा गरेमा संसदीय दलका नेता सत्रुधन महतोको नेतृत्वमा एकीकृत समाजवादी पार्टी प्रदेश सरकारमा सहभागी हुने छ ।

    समाजवादीले दुईवटा मन्त्रालय पाउनेछ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय समाजवादीले पाउने छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दलका नेता महतो र अर्को मन्त्रालयमा सर्लाहीकी बेची लुंगेलीको नाम चर्चामा रहेकाे समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद साहले बताए ।

    मुख्यमन्त्री राउतले खाली रहेका दुई मन्त्रालय कानुन तथा प्रदेश मामिला मन्त्रालय र वाणिज्य आपूर्ति मन्त्रालय दिएर नेकपा समाजवादीलाई सरकारमा सहभागी गराउने प्रयास गरिरहेका थिए । तर समाजवादीले भाइटल मन्त्रालय दिएमा मात्रै जाने अडान लिएपछि सरकार विस्तार रोकिएको थियो । अहिले प्रदेश सरकारमा  जसपाको नेतृत्वमा नेपाली कांग्रेस र माओवादी केन्द्र मात्र सहभागी छन् ।

    मुख्यमन्त्री राउतले राजीनामा मागेपछि मन्त्री यादवले असन्तुष्टि जनाएका छन् । मन्त्री यादवले दलीय गठबन्धनलाई पूर्णता दिन मुख्यमन्त्रीसहित सरकार पुनःगठन हुनुपर्ने बताएका छन् । ‘मन्त्रीको राजीनामा मागने अधिकार मुख्यमन्त्रीसँग भए पनि मुख्यमन्त्रीलाई पनि पार्टीले नै बनाएकाले पार्टीको वैधानिक समितिबाट राजीनामाकाे निर्णय हुनुपर्छ,’ मन्त्री यादवले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार