Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • मुस्ताङको हिउँ पहिरो: घाइते शिक्षक र विद्यार्थीहरु उपचारपछि घर फर्किए, १२० चौरी बेपत्ता [अपडेट]


    सोमबार, कार्तिक २९ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । 

    कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई  गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन् । हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडा अध्यक्ष नरप्रसाद हीराचनले जानकारी दिए ।

    ‘भागदौड मच्चिदा सामान्य घाइते भएका कोबाङको जनआदर्श अमरसिङ माविका ११ जना शिक्षक विद्यार्थी जोमसोममा उपचारपछि घर फर्कनुभएको छ’, उनले भने, ‘भीम शेरचन र सकेन्द्र गौचनका ६५-६५ वटा याक चौँरीमध्ये १०-१२ वटा मात्र भेटिएका छन् ।’

    हिमपहिरो आएको क्षेत्रमा भएका गोठाला सुरक्षितरुपमा सम्पर्कमा आएका छन् । १३०  याक चौँरीमध्ये बाइनाकुलरले हेर्दा १०÷१२  मात्र देखिएको र बेपत्ता चौरी हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको  प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । 

    हिमपहिरोले जङ्गलमा रुख ढलाएको छ । वन्यजन्तुको बासस्थानमा क्षति पुगेको छ । हिमपहिरोपछि बोस्की खोलामा पानीको सतह बढेको थियो । बेनी–जोमसोम सडकमा केही समय यातायात आवतजावत बन्द भएको थियो । 

    नाउरीकोट गाउँको घरभित्र पसेको हिउँ पग्लिएर हिलाम्मे भएको छ । घरको छाना र आँगनमा सुकाएको बिस्कुन तथा खेतबारीको अन्नबालीमा पनि हिउँपहिरोले क्षति पुगेको छ । जङ्गलमा चर्न गएका गाई, भैँसी र भेडा पनि हताहत भएको हुनसक्ने वडाध्यक्ष हीराचनले बताए । उवा र फापरबालीमा क्षति पुगेको छ । 

    सांसद प्रेमप्रसाद तुलाचन, प्रदेशसभा सदस्य चन्द्रमोहन गौचन, महेन्द्र थकाली, प्रजिअ शर्मालगायत सुरक्षा अधिकारीको टोलीले स्थलगत निरिक्षण गरेका थिए ।  क्षतिको विवरण सङ्कलन भइरहेको कोवाङ प्रहरी चौकीका प्रमुख नेत्र जिटीले बताए । हिउँसो ११ः४० मा ठूलो आवाज हिउँको मुस्लो आएपछि भागाभाग भएको थियो । 
     
    हिम पहिरोको धक्बा नाउरिकोट गाउँ, बोक्सी खोला नजिक बेनी–जोमसोम सडकसम्म आउँदा त्रसित भएर भागाभाग भएको जनआदर्श अमरसिङ माध्यमिक विद्यालयका प्रअ खेम गुरुङले बताए । 

    हिउँदयाममा हिउँ जम्नुपर्नेमा बेमौसममा हिमपहिरो गएको प्रतिनिधिसभा सदस्य तुलाचनले बताए । तापक्रम वृद्धि र जलवायु परिवर्तनको असरले बेमौसममा हिमपहिरो गएको उनको भनाइ छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार