काठमाडौं । यूएईमा सम्पन्न आईसीसी टी-२० विश्वकप-२०२१ को उपाधि अष्ट्रेलियाले जितेको छ । आइतबार राती सम्पन्न फाइनल खेलमा अष्ट्रेलियाले चिरप्रतिद्वन्दी न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै उपाधि जितेको हो ।
यसअघि सन् २०१० मा टी-२० विश्वकपको फाइनलसम्म पुग्न सफल रहेको अष्ट्रेलियाले पहिलोपटक टी-२० विश्वकपको उपाधि जितेको हो । उपाधि जितसँगै अष्ट्रेलियाले टी-२० विश्वकपको फाइनलमा सर्वाधिक ठूलो लक्ष्य पूरा गर्दै उपाधि जित्ने कीर्तिमान पनि बनाएको छ ।
दुबई अन्तराष्ट्रिय स्टेडियममा भएको फाइनलमा न्युजिल्याण्डले दिएको १७३ रनको लक्ष्य अष्ट्रेलियाले १८.५ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । उसका लागि मिचेल मार्श र डेविड वार्नरले उत्कृष्ट अर्धशतकीय इनिंग खेले ।
मार्शले ५० बलमा ६ चौका र ४ छक्काको सहयोगमा अविजित ७७ रन बनाउँदा ओपनर आएका वार्नरले ३८ बलमा चार चौका र तीन छक्कासहित ५१ रनको योगदान दिए ।
यस्तै, अष्ट्रेलियाली कप्तान आरोन फिन्च ५ रनमा आउट हुँदा ग्लेन म्याक्सवेल २८ रनमा अविजित रहे । न्युजिल्याण्डका लागि बलिङमा ट्रेन्ट बोल्टले दुई विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७२ रन बनायो । उसका लागि कप्तान केन विलियम्सनले ४८ बलमा १० चौका र तीन छक्कासहित ८५ रनको उत्कृष्ट पारी खेले ।
त्यस्तै, मार्टिन गुप्टिलले २८, ग्लेन फिलिप्सले १८, जिमी नीशमले अविजित १३, डारियल मिचेलले ११ र टिम साइफर्टले ८ रनको योगदान दिए ।बलिङमा जोश हेजलउडले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिए ।