काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अनुत्पादक क्षेत्रमा भइरहेको कर्जा लगानी रोक्न आवश्यक रहेको बताएका छन्।
हिजो शुक्रवार अर्थ मन्त्रालयमा आयोजित छलफलमा शर्माले जसरी अहिले कर्जा प्रवाह भएको छ सोअनुरुपको आर्थिक विकास नभएको पनि बताए । अर्थमन्त्री शर्माले बैंकिङ क्षेत्रमा तरलता चाप बढ्दै गएकोभन्दै अनुत्पादक क्षेत्रमा गरिने कर्जा लगानी रोक्न आवश्यक रहेको पनि बताए ।
अर्थमन्त्रीले अहिले कर्जा प्रवाह बढेको भए पनि सोही अनुसार प्रभाव नदेखिएकोले उत्पादनशील क्षेत्रमा कर्जा बढाउनसमेत निर्देशन दिए । पूँजीगत खर्च सोचेअनुरुप नबढ्दा सम्पूर्ण राजस्व राज्यकै ढुकुटीमा थन्किएकाले पनि बजारमा लगानीयोग्य रकमको अभाव भएको बैंकरहरुले बताएका थिए ।
त्यसमा भने अर्थमन्त्री शर्माले जतिसक्दो पूँँजीगत खर्चलाई बढाएर लैजाने बताए । उनले मासिक १० प्रतिशतका दरले पूँजीगत खर्च बढाउने पनि बताए । प्रथम त्रैमाससम्ममा पूँजीगत खर्च साढे ४ प्रतिशत मात्र भएको अनुमान छ ।
उनले निर्माण व्यवसायीलाई भुक्तानी गर्न बाँकी रकम पनि तत्काल भुक्तानी दिने बताए ।
बैंकरहरुले तरलता व्यवस्थापनका लागि अनौपचारिक क्षेत्रमा जाने कर्जालाई नियन्त्रण गर्दै साना तथा मझौला उद्यम तथा कृषि क्षेत्रमा जाने कर्जामा सीडी रेसियो सहज गर्न माग गरेका थिए । बैंकरहरुले स्थानीय तहले बैंकमा राखेको निक्षेप शतप्रतिशत नै सीडी रेसियोमा गणना गर्न दिनुपर्ने माग पनि राखेका थिए ।
छलफलमा नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी,डेपुटी गभर्नरहरु र २७ ओटा वाणिज्य बैंकका प्रमुख कार्यकारी उपस्थित थिए ।