Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विकट गाउँदेखि मन्त्रीको कुर्सीमा पुग्ने को हुन् रामकुमारी झाँक्री ?


    शुक्रबार, असोज २२ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)बाट रामकुमारी झाँक्री मन्त्री हुने निश्चित भइसकेको छ । २०६२–०६३ को जनआन्दोनले झाँक्रीलाई सेलिब्रेटी नै बनायो । आन्दोलनमा उनलाई प्रहरीले लाठी प्रहार गर्दा उनको टाउको फुटेर रक्तरंजित भएको थियो । बिद्रोही स्वभावकी झाँक्री एमालेमा केपी शर्मा ओलीको सधैं आलोचक रहँदैआएकी थिइन् । नेकपा समाजवादी पार्टी गठनमा उनी सुरुदेखि नै लागेकी हुन् । घनश्याम भूसाल, योगेश भट्टराई जस्ता उनका राजनीतिक गुरुहरुले दस बुँदे अनुसार एमालेमै रहने घोषणा गर्दा पनि उनले ओलीलाई साथ दिन सकिनन् ।  

    वि.स. २०३४ सालमा गुल्मीको म्यालपोखरी गाविस १ रत्नबहादुर र रनकुमारीकी छोरीको रुपमा रामकुमारी झाँकीको जन्म भएको हो । रामकुमारी झाक्रीको एउटा सामान्य किसान परिवारमा छैटौं सदस्यका रुपमा गाउमै जन्म भएको हो । उनको माध्यमिक तहको शिक्षा पृथ्वी माध्यमिक विद्यालय पुर्कोटदहवाट उत्तीर्ण गरेकी हुन् भने विए पद्मकन्या क्याम्पस र एम त्रिभुवन विश्वविद्यालय काठमाडौवाट भएको हो । सानै उमेरदेखि राजनीति चासो राख्ने उनी पृथ्वी माध्यमिक विद्यालयको प्रारम्भिक कमिटीमा पहिलोपटक सदस्यमा जोडीएकी हुन् ।

    नेपाली राजनीतिमा प्रखर बोल्ने महिला नेतृ झाँक्री हाल प्रतिनिधिसभामा नेपाल कम्युनिष्ट पार्टी समाजवादीकी सांसद्  हुन् । समाजवादी पार्टीकी केन्द्रीय सचिव रहेकी झाँक्रीको राजनीति यात्रा विद्यार्थी राजनीति पृष्ठभूमिबाट शुरुवात भएको हो । २०६५ सालमा तत्कालीन नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुको पोखरा महाधिवेसनबाट उनी अध्यक्ष भएकी थिइन् ।

    प्रतिस्पर्धी गोकुल घर्तीलाई ७ सय मतअन्तरले पराजित गर्दै अनेरास्ववियुको ४० बर्षपछि अध्यक्ष पदमा निर्वाचित हुने उनी पहिलो महिला नेतृ बनेकी थिइन् । त्यसपछि राजनीतिमा उनको चर्चा झन चुलिएको हो । उनले अनेरास्ववियुको केन्द्रीय सदस्य, सचिवालय सदस्य, महिला विभाग प्रमुख, प्रचारप्रसार विभाग प्रमुख, सचिव, उपाध्यक्ष हुँदै खुल्ला राजनीतिवाट अध्यक्षमा विजयी भएकी हुन् ।

    नेपाली राजनीतिमा प्रखर बोल्ने महिला नेतृ झाँक्री पछिल्लो समय माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको सचिव छिन् । तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनमा सदस्य पदमा समेत उनी निर्वाचित भएकी थिइन् । राजनीतिक जीवनमा उनले पटक पटक प्रहरी हिरासतमा दिनहरु विताएकी छन् भने कयौंपटक आन्दोलनको क्रममा घाइते भएर अस्पतालको वेडसम्म पुगेकी छन् ।

    पछिल्लोपटक तत्कालीन प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसुरमा पक्राउ गरेपछि सामाजिक सञ्जालदेखि चियापसलसम्म उनको बारेमा चर्चा परिचर्चा सुरु भयो ।

    झाँक्रीलाई पक्राउ गरेपछि विभिन्न दलका नेताहरुले नागरिकको स्वतन्त्रता हनन् भएको भन्दै सरकारको आलोचना समेत गरे । गिरफ्तारी दिनुअघि उनले राज्यले अभिव्यक्ति स्वतन्त्रताविरुद्ध अंकुश लगाउन खोजेको आरोप लगाएकी थिइन् । उनलाई राज्यविरुद्धको कसुर दफा ५८ बमोजिम प्रक्राउ पुर्जी दिइएको थियोे । तर चर्को बिरोधपछि प्रहरीले सोही  दिन बेलुका रिहा गरिदियो । त्यसपछि झाँक्रीको झनै चर्चा चुलियो ।

    उनको २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुपतिबाबु पुरीसँग विवाह भएको हो । एक छोराकी आमा रहेकी नेतृ झाँक्री विवाहपछि पार्र्टीभित्रको आन्तरिक कारणले राजनीतिमा जिम्मेवारी पाउने विषयमा पर्नुभएन । केही समय निस्क्रियजस्तै देखिए पनि उनी सधै राजनीतिमा सक्रिय नै रहेकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार