काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मनुभएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो ।
काठमाडौँको खानदानी परिवारमा जन्मनुभएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो । राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उहाँलगायतलाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल हुनुभएका जोशिला तन्नेरी उहाँ प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय हुनुभएको थियो ।
जेलबाट भागेर भारतमा पुगी अर्का नेता बीपी कोइरालासँग उहाँले राजनीतिक सम्बन्ध विकसित गर्नुभयो । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि उहाँको उल्लेखनीय भूमिका छ । प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उहाँले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नुभयो । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहनुभयो । उहाँ नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील हुनुभयो ।
विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनुभएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताउनुभयो । विसं २०२५ मा बीपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि उहाँले प्रवासमा राजनीतिक सङ्गठन विस्तार गर्नुभयो । उहाँ विसं २०३३ मा बीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरूद्ध सक्रिय रहनुभयो । तत्कालीन पञ्चायती सरकारले बीपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट उहाँले सफाइ पाउनुभयो । उहाँले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो ।
बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा उहाँले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गर्नुभयो । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता सिंहको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बन्नुभएको हो ।
नेता सिंहको २४ औँ स्मृति दिवसका अवसरमा आज कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गर्दैछन् । कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर कार्यक्रम आयोजना गरिने कांग्रेसले जनाएको छ । रासस
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend