Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वडा अधिवेशनको उद्घाटन गर्दै देउवाले भने: महाधिवेशन सफल बनाएर पार्टीमा एकताको सन्देश दिनु


    शुक्रबार, भाद्र १८ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • भक्तपुर। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आह्वान गर्नुभएको छ । 

    भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा आयोजित वडा अधिवेशनको आज उद्घाटन गर्दै उहाँले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने बताउनुभयो । 

    सभापति देउवाले अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेर पार्टीमा एकताको सन्देश दिन आग्रह गर्दै महाधिवेशन पार्टीलाई एकताबद्ध बनाएर लैजाने र आगामी कार्यकालको लागि कार्यनीति र नेतृत्व चयन गर्ने थलो हो भन्नुभयो । 

    उहाँले काँग्रेसको वैधानिकता जोगाउनका लागि कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच महाधिवेशन गर्नुपरेको उल्लेख गर्दै महाधिवेशनलाई सफल बनाउन स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अधिवेशनमा सहभागी हुन सबैमा आह्वान गर्नुभयो । 

    नेकपा एमालेका एक नेताले भक्तपुरमा चुनाव लड्न गरेको चुनौतीको जवाफदिँदैं प्रधानमन्त्री देउवाले आफूसँग नभई जिल्ला सभापति दुर्लभ थापालाई निर्वाचनमा हराएर देखाउन चुनौती पनि दिनुभयो । प्रधानमन्त्री देउवाले आगामी चुनावमा काँग्रेसको उपस्थिति बलियो रहने बताउँदै भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको बताउनुभयो । 

    उहाँले पार्टीले महाधिवेशनको प्रक्रिया सुरुआत भएको भन्दै लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गरी पार्टीलाई थप सशक्त ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

    काँग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाले काँग्रेसको महाधिवेशन वडा स्तरबाट सुरु भइसकेको बताउँदै यसलाई सफल पार्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “कांग्रेस मुलुकको जेठो र लोकतान्त्रिक पार्टी हो । काँग्रेसको महाधिवेशनको सफलताले मुलुकको लोकतन्त्रको भविष्य पनि जोडिएको छ ।”

     काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले गुण्डागर्दीबाट चुनाव जित्ने सपना नदेख्न भन्दै भक्तपुरमा अब काँग्रेसलाई कसैले हराउन नसक्ने दाबी गर्नुभयो । उहाँले अबको स्थानीय तहदेखि सङ्घीय निर्वाचनसम्ममा कांग्रेस विजय सुनिश्चित रहेको बताउनुभयो । 

    कार्यक्रम काँग्रेसका वडा सभापति राजु ढुङ्गेलको सभापतित्वमा सम्पन्न भएको थियो । भक्तपुरको चार वटै नगरपालिकाका ३८ वटा वडामा वडा अधिवेशन सुरु भएको बताउँदै थापाले जिल्लाका करिब ५० प्रतिशत वडामा नेतृत्व चयनमा सर्वसम्मति गरिसकेको र बाँकीमा पनि प्रयास भइरहेको बताउनुभयो । 

    भक्तपुर जिल्लामा काँग्रेसका १० हजार २८६ क्रियाशील सदस्य छन् । तीमध्ये निर्वाचन क्षेत्र नं १ मा तीन हजार ७८२ र क्षेत्र नं २ मा ६ हजार ५०४ जना छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार