काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । मन्त्रिपरिषद बैठकले घिसिङलाई नियुक्ति नगरेपछि ऊर्जा मन्त्री पम्फा भूसाल रुष्ट हुँदै बाहिर निस्किएर माओवादी केन्द्रका अध्यक्ष पुष्पमकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेकी थिइन् ।
मन्त्री भूसालले फोन गर्नासाथ प्रचण्ड बालुवाटार पुगेर कुलमानको नियुक्तिको निर्णय माइन्यूटमा लेख्न लगाएको स्रोतले बताएको छ । मन्त्रिपरिषद बैठक सकिएको १ घन्टापछि कुलमानको नियुक्तिको निर्णय गराई प्रचण्ड फर्किएका थिए ।
घिसिङको नियुक्तिसँगै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा तानिएको छ । मन्त्रिपरिषद बैठकले उनलाई हटाउँदा अदालतमा रिट दर्ता गरी पुनः बहाली हुने संभावनालाई ख्याल गरी आयोगमा तानेको छ ।
शुक्रबार ऊर्जा मन्त्री भूसालले शाक्यलाई मन्त्रालयमा बोलाएर राजीनामा दिन निर्देशन दिएकी थिइन् । उनले धम्कीको भाषामा शाक्यलाई राजीनामा दिनका लागि उनलाई दबाब दिएकी थिइन् ।