काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शनिबार माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शनिबार सार्वजनिक गरेको छ । बोर्डको शनिबार बसेको बैठकले विद्यालयबाट प्राप्त आन्तरिक मूल्यांकनलाई प्रमाणीकरण गरी नतिजा सार्वजनिक गरेको हो ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)का परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीका अनुसार ४ लाख ८४ हजार २ सय ७८ विद्यार्थीको नतिजा प्रमाणीकरण गरिएको हो । यस वर्ष कति विद्यार्थीले कुन जीपीए ल्याए भन्नेबारे राष्ट्रिय परीक्षा बोर्डले छुट्टयाएको छैन । यो वर्षको एसईई परीक्षाका लागि ५ लाख १७ हजार १ सय २२ जनाले आवेदन दिएका थिए ।
विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो । देशभरका विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेकाले यो वर्ष पनि बोर्डले नतिजा विश्लेषण गरेको छैन ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फत प्राप्त गर्न सकिने बताएको छ । बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा ईजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालिमार्फत ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसेलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने बताएको छ ।
यस्तै, आगामी ३१ साउनदेखि तोकिएको कक्षा १२ को परीक्षा स्थगित भएसँगै परीक्षाको तयारी गरिरहेका विद्यार्थीमा अन्योलता छाएको छ । राष्ट्रिय परीक्षा बोर्डको शनिबार बसेको बैठकले कक्षा १२ को परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । ३१ साउनदेखि परीक्षा तालिका तोकिएको थियो ।
पछिल्लो समय कोरोना संक्रमण पुनः बढ्दै गएको अवस्था ध्यानमा राखी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा बोर्डले परीक्षा स्थगित गरेको हो । कोरोना संक्रमणलाई मध्यनजर गरी परीक्षा हुनुभन्दा १५ दिनअघि सूचना प्रकाशित गरेर पुनः परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलका अनुसार अर्को सूचना जारी नहुँदासम्मका लागि परीक्षा स्थगित गरिएको हो । परीक्षा स्थगितका लागि भन्दै सरकारलाई चौतर्फी दबाब परेको थियो ।
परीक्षा सञ्चालनका क्रममा सीसीएमसीले विद्यार्थीको सिट प्लान गर्दा दुई मिटर भौतिक दूरी राखेर अंग्रेजी अक्षर जेट ढाँचामा हुनुपर्ने, विद्यार्थीहरू भीड रोकथाम गर्न परीक्षा केन्द्रमा १ घण्टा ३० मिनेटअघि नै पुग्नुपर्ने सुझाव दिएको थियो ।
परीक्षामा ३ लाख ८६ हजार परीक्षार्थीले ४ हजार ३ सय ३५ परीक्षा केन्द्र्रबाट अनिवार्य र ऐच्छिक गरी करिब ९० विषयको परीक्षा दिनुपर्नेछ । बोर्डले गत वर्ष परीक्षा समय र अंक भार घटाएर परीक्षा लिएको थियो । बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो ।
यसअघि पनि २६ जेठदेखि तय भएको परीक्षा संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो । कोरोनाका कारण विद्यार्थीहरूले समयमा परीक्षा दिन पाएका छैनन् । राजधानी दैनिकमा खबर छ।