काठमाडौं । स्थायी सरकारका रुपमा लिइने सचिवहरु आकर्षक मन्त्रालयमा सरुवा हुनका लागि दौडधूपमा लागेका छन् । सरकार परिवर्तन हुनासाथ आकर्षक मन्त्रालयमा सरुवा हुनका लागि सचिवहरु प्रधानमन्त्री शेरबहादुर देउवाका आसेपासे र बिचौलियाहरुको घर घरमा धाउन थालिसकेका छन् । कतिपय सचिवहरु थमौती हुनका लागि नेता र बिचौलियाको चाकरीमा लिप्त छन् । नेपालको प्रशासनतन्त्रमा यो प्रवृत्ति झन् झन् झांगिदै गएको छ ।
प्रधानमन्त्री देउवाले सरकारले पूर्णता नपाउँदै अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री कार्यालयमा तानिसकेका छन् । अर्थमन्त्रालय अन्तर्गतकै महालेखा नियन्त्रक मधु मरासिनीलाई अर्थमन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।
देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद्लाई पूर्णता नदिँदै प्रशासनतन्त्रमा कांग्रसीकरण सुरु गरिसकेको आरोप छ । अर्थमा सरुवा गरिएकां सचिव मरासिनी कांग्रेसका सदस्यताधारीका रुपमा लिइन्छन् । उनीमाथि आफ्ना लागि अमेरिकाको न्यूयोर्कमा कन्सुलेटको दरबन्दी सिर्जना गरी गएको आरोप पनि लाग्ने गरेको छ । केपी ओली सरकार गठनपछि उक्त दरबन्दी काटिएको थियो । दरबन्दी काटिएपछि उनी फर्किएका थिए ।
सचिव बढुवापछि बल्लतल्ल ३ वर्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका लक्ष्मण अर्याललाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ । स्वास्थ्यमा प्राविधिकलाई नै प्रशासनिक नेतृत्वको अवसर दिनेगरी अर्याललाई प्रधानमन्त्री कार्यालयमा तानिएको हो । आरजु राणाका व्यापारिक साझेदार उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री भएपछि मन्त्रालयका ठेक्कापट्टा, रु. २६ अर्बको खोप खरिद, सरुवा बढुवामा चलखेल गर्न सचिव अर्याल बाधक हुने देखिएपछि उनलाई पन्छाइएको चर्चा स्वास्थ्यका कर्मचारीबीच छ ।
अर्यालको सरुवा पछि स्वास्थ्यमा केही दिन अघि मात्र बढुवा भएका डा.रोशन पोखरेलले मात्र नेतृत्व गर्ने मौका पाएका छन् । सचिव अर्याल चलखेल नगर्ने भनेर प्रशासनतन्त्रमा चिनिन्छन् । अर्थ मन्त्रालयअन्तर्गत हुँदा नक्कली भ्याटबिल प्रकरणमा चौधरी गु्रपमाथि एक्सन लिएपछि उनलाई सचिव बढुवा पछि पनि मन्त्रालय नदिई पेण्डुलम जस्तै राखिएको थियो । स्वास्थ्यमा सचिव हुने मौका पाएका रोशन पोखरेलले मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको प्रमुखमा डा.विवेकलाल कर्णलाई ल्याएकोमा बिरोध सुरु भएको छ ।
एकातिर रक्षा मन्त्रालय, कृषि तथा पशुपंंछी मन्त्रालय र संचार तथा सूचना प्रविधि मन्त्रालय सचिवविहीन छन् भने अर्कोतिर भर्खरै बढुवा भएका ५ सचिव अतिरिक्तमा छन् ।
रेश्मीराज पाण्डेको अवकाशपछि रक्षा, योगेन्द्रकुमार कार्कीको अवकाशपछि कृषि र हरि बस्यालको बिदाइपछि संचार मन्त्रालय सचिवविहीन छन् । कृष्णहरि पुस्कर, खगेन्द्रप्रसाद नेपाल, किरणराज शर्मा, रामप्रसाद घिमिरे र हरिप्रसाद मैनाली अतिरिक्त समूहमा छन् । उनीहरुलाई बढुवापछि पदस्थापन नगरी अतिरिक्तमा राखिएको छ ।
देउवा नेतृत्वमा नयाँ सरकार गठन भएपछि गृह मन्त्रालयको प्रशासनिक नेतृत्वका लागि आधा दर्जनभन्दा बढी सचिवहरु दौडमा छन् । गृहमन्त्रालयका हालका सचिव महेश्वर न्यौपाने गृहमै थमौतीका लागि प्रधानमन्त्री पत्नी आरजु देउवालाई प्रभावित पार्न प्रयासरत छन् । ओली सरकारका विश्वासिला न्यौपाने १८ महिनादेखि गृहमा कार्यरत छन् । न्यौपानेले उद्योग विभागको महानिर्देशक हुँदा एनसेलको लाभकर असुली नगरी नेपाली सेयर खरिदबिक्री सम्झौता (एसपीए) गराउने क्रममा आरजुकै योजनामा गरेकाले गृहमा थमौती हुनका लागि उनी याचना गरिरहेका छन् । गृहमा थमौती नभएमा संचार वा रक्षामध्ये एकमा सरुवा हुन पाउँ भन्दै उनले आरजु राणासँग विन्तीभाउ गरेको स्रोतले बताएको छ ।
गृहमन्त्रालयमा सचिव हुनका लागि दर्जनभन्दा बढी सचिवले दाबी गरेका छन् । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले २०७८ असार २४ गते बढुवा भएका कनिष्ठ सचिव कृष्णहरि पुस्करलाई गृहसचिव बनाउन जोडबल गरेका छन् । निधि र कृष्णहरि पुस्कर दुबै लालाकर्ण हुन् । लालाकर्णको संख्या नेपालभरी करिब ३५ हजार रहेको छ । तर मधेसी समुदायमा लाभ लिनेमा यही समुदाय बढी छ । कृष्णहरि पुस्कर सचिव बढुवा भएपछि गृहमै पदस्थापन हुनेगरी निधिमार्फत् लागेका छन् । नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासँग सभापतिमा भिड्न अगाडि बढेका निधिले कर्णलाई गृहसचिव बनाउन चर्काे दबाब दिइरहेका छन् । तर गृह मन्त्रालयमा वरिष्ठ सचिव नै हुने प्रचलन छ । गृह मन्त्रालयका सचिवले सबै मन्त्रालयका सचिवसँग समन्वय गर्नुपर्ने भएकाले पनि वरिष्ठ नै हुनुपर्ने प्रशासनिक प्रचलन छ ।
बढुवा हुनासाथ सचिवलाई प्रदेशमा प्रमुख सचिवको जिम्मेवारी दिने प्रचलन छ । तर त्यसलाई तोड्दै पुस्करलाई गृह मन्त्रालयमा सचिव बनाउन चलखेल भइरहेको चर्चा छ । कृष्णहरि पुस्करको विगत पनि त्यति सङ्लो छैन । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता हुँदा स्वास्थ्य क्षेत्र सुधारका लागि अनसन बस्दै आएका डा.गोविन्द केसीलाई…‘मनोसामाजिक अपा¨ता भएको व्यक्ति’को संज्ञा दिँदै विज्ञप्ति निकालेकोमा विवादमा परेका थिए । तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई उनैले उचालेर डा.केसीलाई मानसिक सन्तुलन गुमेको भनि विज्ञप्ति नै निकालेपछि धेरै ठूलो विरोध भएको थियो । विरोधका कारण उक्त विज्ञप्ति अख्तियारले सच्याउनुपरेको थियो ।
लोकमान सिंहलाई महाभियोग लगाउन माग गर्दै डा.केसी अनसन बसेपछि पुस्करले उनलाई मानसिक सन्तुलन गुमेको संज्ञा दिँदै विज्ञप्ति निकालेका थिए । अख्तियारमा हुँदा पुस्करले वरिष्ठ सहसचिवहरुलाई बोलाएर हप्कीदप्की गर्नेदेखि महावाणिज्यदूत हुन नपाएको आक्रोशमा सरकारलाईसमेत पत्र लेखेकोमा उनी विवादमा परेका थिए । कलकत्ता, हङकङ र ल्हासाको महावाणिज्यदूत नियुक्त हुन लोकमानको सिफारिस गराएका उनी नपरेपछि कुन मापदण्डका आधारमा नियुक्ति गरिएको भन्दै सरकारलाई पत्र काटेका थिए ।
आयल निगमका तत्कालीन प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले भारतीय नाकाबन्दीताका पेट्रोलियम पदार्थको व्यापक कालोबजारी गरेको पाइएपछि आपूर्ति मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो । खड्काजस्ता भ्रष्ट व्यक्तिलाई स्पष्टीकरण सोधिएपछि आपूर्ति मन्त्री र सचिवलाई पुस्करले किन स्पष्टीकरण सोधेको भनेर धम्कीको भाषा प्रयोग गर्दै उनको बचाउ गरेका थिए । पुस्कर अर्थ मन्त्रालयमा कामै नगरेपनि दिल्लीको इकोनोमिक काउन्सिलरसमेत भएका थिए ।
वरिष्ठ सचिवहरु यादव कोइराला, लक्ष्मण अर्याल, टेकनारायण पाण्डे, बेगेन्द्रराज शर्मा पौडेल, सूर्यप्रसाद गौतम, तोयम राया, सुरेश अधिकारी, केवल भण्डारी, एकनारायण अर्यालहरुलाई छाडेर कृष्णहरिलाई गृहको बागडोर दिँदा प्रशासनतन्त्रभित्रै असन्तुष्टी पैदा हुने सम्भावना छ । तर कृष्णहरि पुस्कर भने जसरी पनि गृहमा जान साम, दाम, दण्ड, भेद सबै उपायहरु अवलम्बन गरिरहेका छन् ।
टेकनारायण पाण्डेमाथि झापाको गिरीबन्धु टी स्टेटदेखि पचासौं अरब मूल्यको जग्गाको हदबन्दी फुकुवा गर्न ऐन बनाउँदादेखि मन्त्रालयमा निर्णय गर्दासम्म पद्मा अर्यालसँग मिलेर करोडौं घोटालामा संलग्न भएको आरोप छ । उनी जागिरे जीवनभर शिक्षा सेवामा बिताएका र प्रमुख जिल्ला अधिकारी नै नभएकाले उनलाई गृहमा लाँदा काममा तालमेल नहुने कुरा प्रधानमन्त्री देउवालाई कतिपयले सुझाइरहेका छन् । गृहमन्त्री बालकृष्ण खाँडसँग पाण्डेको निकट सम्बन्ध भएकाले उनी गृहसचिव हुन्छु भन्दै हिंडेका छन् ।
यादव कोइराला कोरोनाको दोस्रो लहरमा पर्यटन मन्त्रालयबाट भएको चार्टर्ड फ्लाइटमा अनियमितता गरेकोमा विवादित छन् । बेगेन्द्रराज शर्मा पौडेल अवकाशको मुखमा पुगिसकेका छन् । कांग्रेस समर्थक भएकै कारण केपी शर्मा ओली शासनमा पेलिएको भन्दै राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी, उद्योग मन्त्रालयका अर्जुनप्रसाद पोखरेल, प्रधानमन्त्री कार्यालयका डा. बैकुन्ठ अर्याल पनि गृहमन्त्रालय ताकिरहेका छन् । प्रदेश २ का प्रमुख सचिव गोकर्णमणि दुवाडी पनि गृहसचिव नै ताकिरहेका छन् ।
सहसचिव हुँदा एउटा मन्त्रालयमा ३ महिना पनि नटिक्ने भनी चिनिएका सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव मधुुसुदन बुर्लाकोटी पनि आफूलाई गृहसचिवकै दाबेदार भन्न थालेका छन् ।
ओली शासनकालमा सुदूरपश्चिम प्रदेशमै पेलिएका उपराष्ट्रपति कार्यालयका रामकृष्ण सुवेदी माओवादी केन्द्रको भागमा अर्थमन्त्रालयमा सरुवा हुने चर्चा थियो । तर प्रधानमन्त्री देउवाले मरासिनीलाई पठाएपछि अब अर्थको राजस्व सचिवमा उनलाई लैजाने प्रबल संभावना छ ।
पूर्ववर्ती सरकारका प्रधानमन्त्री ओलीले ५२ अर्ब रुपैयाँको रेलको ठेक्का सेटिङमा लगाउनका लागि ल्याइएका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ पनि सरुवामा पर्ने संभावना छ ।
जग्गा अधिग्रहण नै नगरी रेलको ठेक्का दिन लागेकोमा बिरोध भएपछि गतबर्ष रद्द भएको थियो । तर ओलीले पुनः जग्गा अधिग्रहण नै नगरी रेलवे लाइन र पुल निर्माणका लागि ५२ अर्बको ठेक्कामा चासोका साथ लागेका थिए । त्यसका लागि नै उनले रविन्द्र श्रेष्ठलाई भौतिक मन्त्रालयमा ल्याएका थिए । तर रेलको ठेक्काको तयारी गर्दागर्दै ओली पदमुक्त भएका छन् । ओलीले ५२ अर्बको ठेक्कामा ठूला ८ ठेकेदारसँग सेटिङ गरी मिलेमतोमा ठेक्का दिएर ८ अर्बभन्दा बढी चुनाव खर्च जोहो गर्न चाँजोपाँजो मिलाइसकेपछि सरकारबाट बहिर्गमन भएका छन् । भौतिकमा आरजु राणाले पत्याएका ऊर्जा मन्त्रालयका देवेन्द्र कार्की, मणिराम गेलाल, शिक्षा, विज्ञान तथा प्रविधिका सुरेश आचार्यले दाबी गरेका छन् । जीवनभर पर्यटन मन्त्रालयको प्राविधिक महाशाखाका प्रमुखका रुपमा काम गरेका आचार्य खान्दानी कांग्रेसका रुपमा चिनाउन चाहन्छन् ।
कृषि सचिवमा पेमनारायण कँडेल जाने र कृष्ण आचार्यलाई वनमा ल्याउने संभावना छ । कँडेल वनमै टिक्नका लागि प्रधानमन्त्री देउवाको दूत भन्दै चिनाउने रामचन्द्र भट्ट ‘चन्दने’ मार्फत् वनमै थमौती हुन लागेका छन् । चन्दनेले आफूलाई छायाँ प्रधानमन्त्रीकै रुपमा प्रस्तुत गर्दै वनका सरुवा, बढुवादेखि ठेक्कापट्टामा चासो दिने गरेका छन् । वन मन्त्रालयले निकुन्जभित्र जलविद्युतको अनुमति दिनेदेखि झ्याउ खुलाउने जस्ता विवादित काममा पनि भट्टको चासो छ । भट्ट टीसीएनका पूर्व जीएम हुन् । उनले प्रदेश अन्तर्गत गइसकेका जिल्ला वन कार्यालय संघीय सरकारमातहत ल्याउने र जिल्ला वन अधिकृत(डीएफओ)को सरुवामा घुस संकलन गर्ने सुरमा पनि सचिव कँडेलसँग लागेका छन् ।
सहरी विकास मन्त्रालयका रमेशप्रसाद सिंह सहरी विकास तथा भवन निर्माण विभागका अरबौंका ठेक्कामा ३५ प्रतिशत कमिसन लिंदै कांग्रेस नेताहरुको चाकरीमा टिक्नका लागि दौडमा छन् । सहरी विकास तथा भवन निर्माण विभागका १० लाख भन्दा माथिका सबै ठेक्का र परामर्शका काम सचिव सिंहले भनेको कम्पनीलाई दिनुपर्ने बाध्यतामा महानिर्देशक नवराज प्याकुरेल छन् । दसौं अरबका क्षेत्रीय सहरी आयोजनादेखि दातृराष्ट्रले सहयोग गरेका आयोजनामा परामर्शदाता र कन्ष्ट्रक्सन कम्पनी छनोटमा सचिव सिंहकै दबदबा रहेको छ । भ्रष्टाचारमा कीर्तिमानी सचिव सिंहले बरिष्ठ सहसचिव पदम मैनाली, रामचन्द्र दंगाल, चक्रवर्ती कन्ठ लगायतलाई पुननिर्माण प्राधिकरण, प्राकृतिक तथा वित्त आयोग र सार्वजनिक खरिद अनुगमन कार्यालयमा धपाइसकेका छन् ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend