काठमाडौं । सशस्त्र प्रहरी बल स्थापना भएपछि भर्ना भएका इन्स्पेक्टरहरू बल्लतल्ल १६ वर्षमा डीएसपीसम्म भएका छन् । कतिपय त इन्स्पेक्टरमै छन् । १६ वर्षसम्म वृत्तिविकासको स्पष्ट योजना ल्याउन नसक्दा र पहल नगर्दा सशस्त्र प्रहरी बलमा प्रतिस्पर्धा गरेर आएका र स्टाफ कलेज गरेका अधिकृतहरू निराश भएका छन् । यस्तो अवस्थामा संगठनमा जीवन्तता प्रदान गर्न सशस्त्रका क्षमतावान अधिकृतहरूको बढुवा प्रक्रियालाई छिटोछरितो गर्नुपर्नेमा १० एसएसपीको रिक्त दरबन्दीमा पनि पदोन्नति नगरी बढुवा प्रक्रियामा विलम्ब भइरहेको गुनासा छ ।
आईजीपी शैलेन्द्र खनालले आफ्नो ३ वर्ष ४ महिने कार्यकालमा राजनीतिक दलका नेताहरूको चाकडी गर्ने र पद जोगाउने बाहेक संगठनका लागि कुनै उल्लेख्य काम नगरेको पीडित अधिकृतहरूको गुनासो रहेको छ । सशस्त्र प्रहरी बल गठन पछि भर्ना भएका जनशक्तिलाई वृत्तिविकासको भरपर्दाे योजना ल्याउन नसकेका आईजीपी खनालले चिफ इन्स्पेक्टरको पद सिर्जना गर्ने प्रस्ताव गृहमन्त्रालयमा पेश गरेका छन् । सशस्त्र प्रहरीको नियमावली संशोधन गरी पद सिर्जना गर्ने कार्य अगाडि बढाएका छन् । विगतका संगठन प्रमुखले थप गरेको दरबन्दी र गण र गुल्महरू खारेज गरेको अपजस पनि आईजीपी खनालमाथि छ । दरबन्दी थप्ने काममा पनि असफल भएको आरोप छ ।
समायोजनका नाममा भद्रकाली गण, औद्योगिक तथा भन्सार गण, औद्योगिक सुरक्षा गुल्म, भन्सार गुल्म, राजस्व गुल्म, बीओपीलगायतका स्थायी कार्यालयहरू खारेज गरेका आईजीपी खनालले दरबन्दीसमेत थप्न नसकेको इतिहास राख्ने भएका छन् । नेपाल प्रहरीमा चार पटक भर्ना खुलेर तालिम सकिंदासम्म सशस्त्रमा भर्नाको परीक्षाको नतिजा आउन वर्षदिन पर्खिनुपर्छ भन्ने गुनासो सुनिन्छ । सशस्त्रमा निरीक्षकको १६ वर्षसम्म बढुवा हुन सकेको छैन । १६ वर्षसम्म इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न नसक्ने संगठन प्रमुखले इन्स्पेक्टर पद थपेर बहादुरी देखाउन खोजेका छन् । यो पद थप्ने कुरा सशस्त्रका निरीक्षकदेखि माथिका अतिरिक्त महानिरीक्षकसम्म छलफल नै नगरी आईजीपी खनालले जेमन्त ढंगले अगाडि बढाएको आरोप छ ।
केही आफ्नो प्यानलका व्यक्तिहरूको सल्लाहमा उनले चिफ इन्स्पेक्टरको पद सिर्जना गर्न खोजेको समाचार छ । डीएसपी हुने समयमा चिफ इन्स्पेक्टर बनाएर संगठनलाई कस्तो बनाउन खोजेको भनि आईजीपी खनालको विरोध भइराखेको छ । १५ वर्षसम्म बढुवा हुन नसकेका सप्रनिहरूले कसैको स्वार्थका लागि चिफ इन्स्पेक्टर नै हुनुपर्दा मनोबल गिर्ने गुनासो गर्दैछन् । सशस्त्र प्रहरी कसैको पेवा हो ? छलफल नै नगरी चिफ इन्स्पेक्टरको पद सिर्जना गरी बढुवामा अन्याय परेकालाई न्याय दिन खोजिएको हो कि थप ५ वर्ष डिएसपी बन्नबाट रोक्न खोजिएको भन्ने प्रश्न पनि उठेको छ ।
सशस्त्र प्रहरी बलमा नेपाल प्रहरीको असईबाट आएका एसपी भइसकेका छन् भने सईबाट आएकाहरू डीआईजी भइसकेका छन् । तर सशस्त्र गठन भएलगत्तै भर्ना भएका दक्ष जनशक्ति १६ वर्षसम्म पनि डीएसपीमै खुम्चिनु परेको दुखद अवस्था रहेको छ । स्नातक पास गरी लोकसेवा आयोग पास गरेर इन्स्पेक्टर भएकालाई अन्याय गरी नेपाल प्रहरीबाट आएका (भारतीय प्रमाणपत्रधारी) हरूलाई फटाफट बढुवा गरिएको गुनासो पनि रहेको छ । जसले सशस्त्रमा तीव्र असन्तुष्टी पैदा गरेको एक अधिकृतले बताए । साँघु साप्ताहिकबाट