काठमाडौँ । काठमाडौँ उपत्यकाको निषेधाज्ञामा आजदेखि केही खुकुलो बनाइएको छ।
यसअघि एक हप्तासम्म खाद्यान्नका पसल समेत बन्द गर्ने गरी भएको निषेधाज्ञा बिहीबार राति १२ बजेपछि केही खुकुलो बनाउँदै जेठ मसान्तसम्म थपिएकोमा केही खुकुलो बनाइएको हो।
खुकुलो भएसँगै आजदेखि खाद्यान्न, किराना, तरकारी तथा फलफूल पसल, दूध डेरी, मासु पसल, ग्यास पसल बिहान ९ बजेसम्म खोल्न पाइने छ । यस्तै निर्माण सामग्री ढुवानीका गाडी राति ९ बजेदेखि बिहान ४ बजेसम्म चलाउन पाइने छ । गाडी मर्मत गर्ने वर्कसपहरु राति ९ बजेदेखि बिहान ९ बजेसम्म खोल्न पाइनेछ ।
शैक्षिक संस्था, सार्वजनिक निजी गाडी तथा भोज, सभा समारोहजस्ता धेरै मानिस जम्मा हुने स्थललाई बन्द गर्ने निर्णय यथावत राखिएको छ । घरमै वा बसेको ठाउँमा ७ जनासम्म जम्मा भइ विवाह व्रतबन्ध गर्न पाइने छ । सरकारले तोकेका मापदण्ड पालना गरी कृषिको काम गर्न छुट दिइएको छ ।
यसैगरी अत्यावश्यकबाहेक सरकारी कार्यालय, सार्वजनिक संस्थान र बीमा कार्यालयहरु बन्द रहने छन् । वाणिज्य बैंकहरुले प्रधान कार्यालयबाहेक काठमाडौँमा तीनवटा शाखा कार्यालयमात्र खोल्न पाउनेछन् । औषधि तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तु र सेवा खरिदमा बाहेक जेठ ३१ गतेसम्म कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाइने पनि आदेशमा उल्लेख छ ।