कठमाडौं। विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वलबहादुर थापाको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्।
सामाजिक संजाल फेसबुकमार्फत एक शोक सन्देश दिदै प्रधानमन्त्री ओलीले भनेका छन्, विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनको खवरबाट स्तब्ध भएको छु। थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
यसैबीच, नेकपा एमालेले विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वलबहादुर थापाको निधनले नेपाली राजनीतिक क्षेत्रले लामो समय अभाव महसुस गर्ने बताएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङद्वारा जारी विज्ञप्तिमा थापाको राजनीतिक दर्शन नेपाली युवाका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै उहाँ नेपालको राजनीतिक क्षितिजमा नयाँ आशा र दृष्टिकोणसहित उदाउँदै गरेको एक राजनीतिक र सामाजिक व्यक्तित्व भएको जनाइएको छ ।
एक असल राजनीतिक मित्र गुमाएको जनाउँदै एमालेले उहाँप्रति श्रद्धाञ्जलिका साथ परिवाजन र पार्टीप्रति समवेदना व्यक्त गरेको छ ।