काठमाडौं । बाँकेस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने मानबहादुर रावत लगायतका विरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा चलाउने भएको छ । आक्रमणमा संलग्न दाङको तुलसीपुरका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार राति कोरोना संक्रमित आफन्तको मृत्यु भएपछि रावतहरुले कोभिड वार्डमा छिरेर डाक्टर र नर्सलाई अन्धाधुन्द आक्रमण गरेका थिए । आक्रमणकारीबाट ज्यान बचाउन स्वास्थ्यकर्मी एक तलामाथिबाट हाम्फालेका थिए । मानबहादुर रावत एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । उनी मुख्यमन्त्री शंकर पोखरेलका निकट हुन् । सत्ताधारी पार्टीको नेता रावतको नेतृत्वमा अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो ।

आक्रमणको बिरुद्ध आन्दोलित स्वास्थ्यकर्मी
शुक्रबार बिहानै आक्रमणकारीलाई कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएपछि बाँके प्रहरीले तीनैजनालाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने सहमति भएको छ । आक्रमणकारीलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने सहमतिपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किएका छन् ।
कोरोना महामारीमा ज्यान जोखिममा राखेर बिरामीको सेवा गर्ने स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेबिरुद्ध कारबाही हुनुपर्ने माग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’देखि, एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले गरेका छन् ।
सत्ताकै आडमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको चौतर्फी बिरोध भएपछि मुख्यमन्त्री शंकर पोखरेलले रावतलाई बचाउन खोजे पनि सकेनन् । अन्ततः प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । र, कर्तब्य ज्यानको कसुरमा मुद्दा दायर गरेको छ । लुम्बिनी प्रदेश प्रहरीका डीआइजी रविन्द्रबहादुर धानुकले आरोपीहरु बिरुद्ध ‘ज्यान मार्ने उद्योग’ र ‘आपराधिक उपद्रव’ गरेको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु भएको जानकारी दिए ।