Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली सरकार फासिष्ट एवं राष्ट्रघाती बाटोमा अग्रसर भइरहेको छः माओवादी केन्द्र


    शनिबार, जेष्ठ ८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीद्वारा षड्यन्त्रमूलक ढंगले गरिएको प्रतिनिधिसभा विघटनको घोषणालाई  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम ठहर गरेको छ । र, उक्त कदमको घोर बिरोध गरेको छ ।

    राष्ट्रपति र प्रधानमन्त्रीको मिलिमतोमा भइरहेको यस प्रकारको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी एवं राष्ट्रघाती कदमको विरुद्ध कानूनी र राजनैतिक सबै प्रकारको संघष गर्न प्रतिवद्ध रहेको माओवादीले जनाएको छ । माओवादी केन्द्रले राष्ट्रिय सार्वभैमिकता एवं स्वाधीनता, संविधान र लोकतन्त्र पक्षधर सबै राजनैतिक दलहरु, नागरिक समाज, बुद्धिजीवी, कानूनविद, मानवअधिकारवादी, पेशाकर्मी लगायत आम जनसमुदायलाई एकतावद्ध भई राष्ट्रिय स्वाधीनता, संविधान, लोकतन्त्र र अग्रगमनको पक्षमा उभिन र संघर्ष गर्न अपिल गरेको छ ।

    प्रधानमन्त्री ओलीले संविधानको धारा ७६(३) को सरकारले अनिवार्य रुपमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थालाई कुल्चेर र राजीनामा समेत नदिई संविधानको धारा ७६(५) अनुसार सरकार गठनको आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए । यो असंवैधानिक सिफारिसका आधारमा राष्ट्रपतिले संविधानको धारा ७६ (५)  को सरकारको गठनका निम्ति दावी गर्न १ दिन पनि समय नदिई आह्वान गरे ।

    प्रधानमन्त्री र राष्ट्रपतिको उपरोक्त कदम संविधानको प्रतिकूल र राजनैतिक दुराशयपूर्ण थियो । यसप्रकारको असंवैधानिक आह्वानका विरुद्ध सर्वोच्च अदालतमा रिटहरु परेकोमा सोही दिन ५ बजेभित्र अन्तरिम आदेश जारी गर्नुपर्ने रिट अदालतमा दर्ता नै गरिएन । यस स्थितिमा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालका प्रतिनिधिसभाका १४९ सदस्यहरुको हस्ताक्षरसहित नेपाली काङ्गेसका सभापति माननीय शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्तीका लागि राष्ट्रपति समक्ष दावी गरियो । संवैधानिक रुपमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुको कुनै विकल्प थिएन । तर प्रधानमन्त्री र राष्ट्रपति मिलेर मध्यरातमा प्रतिनिधिसभा विघटन गर्ने घोषणा गरियो । यो २०७७ पौष ५ गतेको प्रतिगामी कदमको निरन्तरताको अर्को कडी हो, विज्ञप्तिमा उल्लेख छ ।

    माओवादी केन्द्रको विज्ञप्तिमा उल्लेख छ,सरकार कोरोना संक्रमणको रोकथाम, नियन्त्रण एवं उपचार गर्न र यसको बुहआयामिक असरलाई संवोधन गर्न गम्भीर हुनुको सट्टा तुच्छ सत्तास्वार्थ केन्द्रित भई वाह्य हस्तक्षेपको आमन्त्रण एवं अभ्यास गराइरहेको छ र फाशिष्ट एवं राष्ट्रघाती बाटोमा अग्रसर भइरहेको छ । त्यसैले प्रतिगमन र यस प्रकारको निरंकुश, स्वेच्छाचारी एवं राष्ट्रघाती प्रवृत्तिलाई परास्त गर्नु महामारी  लगायत बहुआयामिक राष्ट्रिय संकटको समाधानको लागि अनिर्वाय छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार