Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भत्कियो प्रणाली, टुट्यो भरोसा : बलबुताका आधारमा सिलिन्डर व्यवस्थापन गर्दै सांसद र मन्त्री


    मंगलबार, जेष्ठ ४ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौँ। सरकारले जिल्ला–जिल्लामा अक्सिजन पुर्याउँछ र नागरिक बचाउँछ भन्नेमा सांसद र स्वयं मन्त्रीलाई नै भरोसा छैन। सिलिन्डर जम्मा गर्ने र जिल्ला–जिल्ला पुर्याउन सांसद र मन्त्रीहरूबीच प्रतिस्पर्धा छ।

    यही वेला, जिल्ला अस्पतालका नाममा छुट्याइएका सिलिन्डर सीधै जिल्ला लग्नुको सट्टा सांसदका घरघर डुलाएर अमूल्य समय पनि बर्बाद गरिएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

    जसमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले काठमाडौंबाट गृहजिल्ला अर्घाखाँचीका लागि पठाएका १८ थान अक्सिजन सिलिन्डर गत २९ वैशाखमा नागढुंगा प्रहरीले रोक्यो।

    अघिल्लो दिन अक्सिजन सकिएर भैरहवाको भीम अस्पताल, बुटवलको धागो कारखानाको आइसोलेसन र नेपालगन्जको भेरी अस्पतालमा १६ जना संक्रमितको मृत्यु भएको थियो । अक्सिजन वितरण अस्तव्यस्त भएको वेला कागजपत्र केही नभएको भन्दै पाँच घन्टासम्म रोकेपछि प्रहरीले अन्तिममा छोड्यो।

    ‘जिल्लाको अस्पतालबाट अक्सिजन अभाव भयो भनेर फोन आएपछि मन्त्रीज्यूले सिलिन्डर पठाउनुभएको हो । तर, सिसिएमसीको सिफारिस र पत्र नभएको भन्दै प्रहरीले पाँच घन्टा रोक्ने काम गर्यो,’ मन्त्री रायमाझीका स्वकीय सचिव लीला जिसीले भने । उनका अनुसार मन्त्री रायमाझीले सुरक्षा निकायसँग कुराकानी गरेपछि गाडी सन्धिखर्क पुगेको थियो।

    अहिले अस्पतालमा अहिले ६० थान अक्सिजन सिलिन्डर छन् । जसमध्ये १८ थान ऊर्जामन्त्री रायमाझी, ६ थान लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्य, चार थान सन्धिखर्क नगरपालिका, १४ थान जिल्लामा रहेका विभिन्न उद्योगहरूबाट प्राप्त भएको अस्पतालले जनाएको छ।

    दुई सय थान अक्सिजन सिलिन्डर आफ्नो पहलमा प्रदेश– २ मा आउन थालेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले बताएकी छिन् । ‘मेरो पहलमा तत्काल जनकपुरमा दुई सय थान अक्सिजन सिलिन्डर जाँदै छ, थप सिलिन्डर, भेन्टिलेटर तथा अन्य स्वास्थ्य सामग्री साताभित्रै पठाउने प्रयासमा छु,’ महतोले भनिन् । आफूले पठाएको अक्सिजन सिलिन्डर सोमबार राति नै जनकपुर पुग्ने मन्त्री महतोले बताइन् ।

    तर, ती सिलिन्डर कहाँबाट खोजेर जनकपुर पुर्याउन थालेको भन्नेबारे मन्त्री महतोले स्पष्ट पारेकी छैनन् ।

    प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा.प्रमोदकुमार यादवले मन्त्री महतोले पठाउन लागेको अक्सिजन सिलिन्डरबारे आफूलाई केही जानकारी नरहेको बताए । ‘चीन सरकारबाट अनुदानमा आएका सिलिन्डरमध्ये प्रदेश २ लाई दुई सय थान सिलिन्डर तोकिएको पहिला नै जानकारी आएको थियो,’ डा. यादवले भने ।

    मन्त्री महतोले पठाउन लागेका सिलिन्डरबारे आफूहरूलाई कुनै जानकारी नरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

    वनमन्त्री प्रेमबहादुर आलेले बाँकेमा २२ थान अक्सिजन सिलिन्डर रिफिल गरेर आइतबार गृहजिल्ला डोटी पठाएका छन् । धनगढीस्थित बोलन्या थली संस्थालाई व्यक्तिगत आर्थिक सहयोग गरेर उनले सिलिन्डर भर्न लगाएका थिए।

    एमाले संसदीय दलकी सचेतक शान्ता चौधरी र क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हीराबहादुर केसी अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री बोकेर सोमबार गृहजिल्ला दाङ पुगेका छन् ।

    बेलझुन्डीस्थित प्रदेश कोरोना अस्पताललाई काठमाडौंबाट ल्याएको २० थान अक्सिजन सिलिन्डर, तीन थान कन्सन्ट्रेटर, एक सयभन्दा बढी भाइल रेम्डेसिभिर, दुई सय थान पिपिई सेट, चार हजार थान मास्क, २५ जार स्यानिटाइजर, चस्मालगायतका सामग्री हस्तान्तरण गरिएको सांसद चौधरीले बताइन् । अस्पतालमा अक्सिजन अभाव हुन नदिन हरसम्भव प्रयास गर्ने उनको भनाइ छ ।

    ‘दाङका सांसद कता हराए?’ भन्दै जिल्लावासीले सामाजिक सञ्जालमार्फत चासो राखेपछि दाङबाट प्रतिनिधित्व गर्ने सांसदहरूले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई भेटेर स्वास्थ्य सामग्री उपलब्ध गराइदिन माग गरेका थिए । स्वास्थ्यमन्त्रीसँग भएको भेट र उपलब्धिबारे सांसद चौधरीले फेसबुकमा लेखेकी थिइन्, ‘हामी यता छौँ, हराएका छैनौँ।’

    काठमाडौंबाट स्वास्थ्य सामग्री ल्याउने क्रममा बाटोमा कुनै समस्या नभएको उनले बताइन् । ‘स्वास्थ्य सामग्री बोकेको ट्रक र हामी सँगसँगै थियौँ । कसैले कुनै रोकतोक गरेनन् । कहीँ नरोकिएर हामी सरासर दाङ पुग्यौँ,’ सांसद चौधरीले भनिन्।

    कोरोनाको दोस्रो लहर सुरु भएयता पूर्वमन्त्री तथा सांसद जनार्दन शर्माले गृहजिल्ला रुकुम पश्चिममा ७९ वटा अक्सिजन सिलिन्डर पु¥याएका छन् । संक्रमण भयावह बन्दै जाँदा जिल्लास्थित स्वास्थ्य संस्थाहरूमा अक्सिजनको माग उच्च भएपछि उनले आफ्नै पहलमा सिलिन्डरको व्यवस्थापन गरेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार