काठमाडाैं । कोरोना महामारीको दोस्रो लहर चलिरहँदा बजारमा अक्सिजन पल्स मापन गर्न प्रयोग हुने अक्सिमिटर नै गुणस्तरहीन बिक्री वितरण हुने गरेको पाइएको छ।
अक्सिमिटरको कालोबजारीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चीनबाट मास्कको तुना आयात गर्दा अक्सिमिटर ल्याइने र महंगोमा बिक्री गर्ने गरेको अनुसन्धानले देखाएको हो।
काठमाडौं प्रशासन, महानगरीय अपराध महाशाखा, औषधी व्यवस्था विभागको संयुक्त टोलीले अनुगमनका क्रममा ठूलो मात्रामा उत्पादन मिति, म्याद समाप्त मिति, खरिद-बिक्री मूल्य नभएका अक्सिमिटरसहित सात जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बल्खु स्थित बायोप्लस फर्माका संचालक शिखर श्रेष्ठ र थापाथली स्थित नानोटेक फर्माका संचालक शेषकान्त अधिकारी सहित ७ जना छन् ।
बाजुरा घर भएका थुमराज उपाध्याय, सुनसरी घर भएका पुष्कर घिमिरे, विराटनगरका विशाल आचार्य, सिन्धुलीका सन्तोष भण्डारी र भारतिय नागरिक जगदीश प्रसाद रानासरिया लाई महाशाखाले पक्राउ गरेको छ ।
बास्तबिक मूल्यभन्दा धेरै मुल्यमा बेच्न खोजेको अवस्थामा ७ सय ६५ थान अक्सिमिटर बरामद गरिएको स्राेतले बताएकाे छ ।
पक्राउ गरिएकाहरुलाई कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाइने स्राेतले जानकारी दिएकाे छ।
न्युरोडको डिएण्डडि इन्टरप्राइजेज मार्फत चिनबाट लुकाएर ल्याएको कमसल गुणस्तरको अक्सिमिटरको बजार मुल्य करिब ७ सय पर्ने भएपनि उनीहरुले २ हजार २ सय सम्म बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।