Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई हजार सिलिण्डर सङ्कलन र वितरण


    शुक्रबार, बैशाख २४ २०७८
    545
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रहरी प्रशासनको विशेष सक्रियता तथा कतिपय उद्योग, आयोजनाको स्वतःस्फुर्त प्रयासबाट अक्सिजन सिलिण्डर जम्मा गर्ने काम तीव्र पारिएको छ ।

    गृह मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका समन्वयमा अक्सिजन अभाव हुन नदिन विभिन्न उद्योग, आयोजना तथा व्यक्तिका साथमा रहेका अक्सिजन सिलिण्डर जम्मा गर्ने कार्य भइरहेको आज विज्ञप्ति जारी गरी जनाएको छ ।

    मुलुकका विभिन्न जिल्लाबाट प्राप्त विवरण अनुसार आज मात्रै एक हजार ८१६ थान अक्सिजन सिलिण्डर सङ्कलन भएको छ । कोभिड बिरामीका लागि अत्यावश्यक पर्ने अक्सिजन स्वतःस्फुर्त रुपमा उपलब्ध गराउने सबै उद्योग, व्यवसाय तथा व्यक्तिलाई मन्त्रालयले धन्यवाद दिएको छ । यसरी जम्मा हुन आएका अक्सिजन सिलिण्डर स्वास्थ्य र उद्योग मन्त्रालयको प्रत्यक्ष संलग्नता र समन्वयमा आज वितरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    यस विषम परिस्थितिमा अक्सिजनको सहज आपूर्ति तथा न्यायपूर्ण वितरण प्रणालीमा समन्वयकारी भूमिका निर्वाह गरिरहेको जानकारी गराउँदै गृह मन्त्रालयले कोभिड उपचारका लागि यसको अभाव हुन नदिन र आपूर्ति सहज बनाउन सबै लाग्नुपर्नेमा जोड दिएको छ ।

    अस्पतालबाहेक अन्य प्रयोजनमा विभिन्न उद्योग, व्यवसाय, आयोजना तथा व्यक्तिसँग रहेका अक्सिजन सिलिण्डर स्वतःस्फुर्त नजीकको अस्पताल वा सुरक्षा निकायमा उपलब्ध गराई मानवीय कार्यमा योगदान दिन मन्त्रालयले अनुरोध गरेको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार