काठमाडाैं । रू ९० रुपैयाँको स्टासेफ इन्जेक्सन २५ हजारसम्म बिक्री गरेकाे पाइएकाे छ ।
स्टासेफ इन्जेक्सन एन्टिबायोटिक हो । चिकित्सकका अनुसार ज्वरो आँउदा र छाती दुख्दा यो इन्जेक्सन प्रयोग हुन्छ ।
स्टासेफको खुद्रा बजार मूल्य ९० रुपैयाँ पर्छ । ९० रुपैयाँको इन्जेक्सनमा स्टिकर परिवर्तन गरी गिरोहले ८ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएको थियो । यो औषधि बिरामीका आफन्त र एजेन्टमार्फत पनि बिक्री हुँदै आएको प्रहरी स्रोतको दाबी छ ।
प्रहरी स्रोतका अनुसार सोनुले एजेन्टलाई ८ हजार रुपैयाँ लिएर नक्कली रेमडिसिभिर दिन्थे । एजेन्टले भने २५ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएका थिए ।
भारतमा प्रतिभाइल भारू २ हजार ८ सयदेखि ४ हजार ५ सयमा रेमडिसिभिर पाइन्छ । नेपालमा भने १५ हजारदेखि २५ हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ ।
गिरोहले ‘स्टासेफ’ औषधिमा रेमडिसिभिरको स्टिकर लगाएर बिक्री गर्दै आएको प्रहरीको भनाइ छ । दुईवटै औषधिको बोतलको आकार उस्तै छ । होटल भाडामा लिएर गिरोहले स्टासेफ औषधिको बट्टामा रेमडिसिभिरको खोल र स्टिकर प्रयोग गरेर बिक्री गर्दै आएको प्रहरी स्रोतको दाबी छ ।