विराटनगर । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विराटनगरमा बुधबार राति र बिहीबार गरी सात जनाको मृत्यु भएको छ ।
कोसी अस्पतालमा विराटनगर महानगरपालिका–१० का ५७ वर्षीय पुरुष, मोरङको जहदा गाउँपालिका–५ का २५ वर्षीय युवक, सुनसरीको कोसी गाउँपालिका–४ का ६५ वर्षीय पुरुष र विराटनगर महानगरपालिका–१३ का ५० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा पनि कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना महिला र एकजना वृद्ध पुरुष छन् ।
पाठेघरमा देखिएको समस्याका कारण अत्याधिक रक्तश्राव हुँदा विराटनगर–५ को चाखालकी ३७ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको हो ।
नोबेलमै उपचारका लागि भर्ना गरिएका विराटनगर महानगरपालिका–१९ का ६४ वर्षीय पुरुषको पनि बुधबार राति मृत्यु भएको हो ।
विराटनगरकै न्युरो अस्पतालमा मोरङको रंगेली नगरपालिका–३ का २६ वर्षीय युवकको मृत्यु भएको छ ।