काठमाडौं । कोरोना महामारीबाट बच्न नेपालले ल्याउन लागेको कोभिसिल्ड खोप समेत ब्यापारिक स्वार्थका कारण आयात हुन नसकेको खुलेको छ । भारत सरकारले नेपाललाई १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो । भारतको सेरुम इन्स्टिच्यूट इण्डिया प्रा.लि.सँग नेपालले किन्ने सम्झौता गरी रकम भुक्तानी गरिसकेको २० लाख डोज खोप मध्ये १० लाख डोज आइसकेको छ । बाँकी १० लाख डोज खोप आएको छैन । जुन खोप चैतमै आइसक्नुपर्नेमा नेपालका ब्यापारी सुरज बैद्य र बिजय दुगडका कमिसनमोहका कारण रोकिन पुगेको छ । बैद्य र दुगडले हुकुम इन्टरप्राजेजमार्फत् नेपाललाई खोप दिनुपर्ने भनेर भारतको पूणेस्थित सेरुम इन्स्टिच्यूटमै गएर रोकेका छन् । खोपबाट हुने ठूलो फाइदा देखेर बैद्यले हतार हतार हुकुम इन्टरप्राइजेजको नाममा सेरुमको एजेन्सी लिएका थिए ।
१० प्रतिशत कमिसन स्थानीय एजेन्टले पाउने भएकाले सूरज बैद्यले पहिला त नेपाल सरकारबाट खरिद गर्नबाट रोक्न खोजे । सरकारले सिधै डिल गरेपछि स्थानीय एजेन्टले कमिसन नपाउने भएपछि भारतको पुणेस्थित सिरम इन्ष्टिच्यूटमै गएर सुरज बैद्यले नेपाललाई पठाउन लागेको १० लाख डोज खोप रोकेका छन् । यदि सूरज बैद्यले नरोकेको भए उक्त खोप नेपालमा चैतको पहिलो सातातिरै आइसक्ने थियो । थप १० लााख खोप आएको भए थप १० लाख नेपालीले खोप पाउँथे । खोप लगाइसकेकाहरुलाई कोरोना संक्रमणको संभावना कम छ, भइहाले जोखिम कम देखिएको छ ।
तर, ब्यापारी सूरज बैद्यले नेपाल सरकारबाट खरिद नगरी आफ्नो एजेन्सीमार्फत् ल्याउने पहल सार्थक हुन नसकेपछि पुणेमै गएर नेपालले रकम भुक्तानी गरिसकेको खोप समेत रोकेर मानवताबिरोधी अपराध गरेका छन् । बैद्यले १० प्रतिशत कमिसनको लोभमा नेपालमा आउने खोप रोकेपछि सिरमले १० लाख डोजबापतको रकम नेपाललाई फिर्ता गर्न चाहेको छ । सिरमले खोप नपठाई रकम फिर्ता गर्ने आसय स्वास्थ्य मन्त्रालयसँग राखेको स्रोतले बताएको छ । सूरज बैद्यकी श्रीमती रितु सिंह बैद्य भारतकी मोडल हुन् । श्रीमतीमार्फत् बैद्यले सेरुम इन्ष्टिच्यूटको एजेन्सी हुकुमका नाममा खोप परीक्षण लगत्तै लिएका थिए । कोरोना महामारीका कारण खोपको माग बढ्ने र त्यसबाट ठूलो रकम कमाइ हुने देखेर बैद्य र दुगडले सेरुमको एजेन्सी लिएका थिए । तर सरकारले सिधै डिल गरेपछि बैद्य जिल्लाराम भएका थिए । बैद्यले प्रधानमन्त्री ओली र स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीबाट १० प्रतिशत कसिसन लोकल एजेन्टले पाउने निर्णय समेत गराउन लबिईङ गर्दैआएका छन् । तर सरकारले संभावित बिरोधका कारण त्यो निर्णय गर्न सकेको छैन ।
कमिसनका लागि मानवता बिरोधी अपराधमा बैद्य
सूरज बैद्य जापानीज गाडी टोयटाका नेपाली एजेन्ट हुन् । तर उनी नेपालमा सरकारी जग्गा अतिक्रमणदेखि विभिन्न काण्डमा मुछिंदैआएका छन् । नेपालका लागि सेत्तो हात्ती सावित भएका र नेपाल वायुसेवा निगमलाई करोडौं करोड घाटामा पार्ने चिनियाँ जहाज भित्र्यायने कमिसन एजेन्ट पनि बैद्य नै हुन् । जुन जहाज अहिले धान्नै नसकेपछि ग्राउन्डेड छन् ।
देश कोरोना महामारीसँग जुधिरहेको छ । दैनिक ५५ जना कोरोना बिरामी आइसियु र बेड नपाएर मुत्युको मुखमा पुगिसकेका छन् । यस्तो बेला नागरिकको जीवन रक्षामा लाग्नुपर्ने ब्यापारी बैद्य खोप ल्याउन समेत रोकेर मानवताबिरोधी अपराधमा संलग्न भएका छन् । भारतका ब्यापारी निःशुल्क अक्सिजन दिएर कोरोना संक्रमितको जीवन रक्षा गर्न तल्लीन छन्, तर नेपालका सूरज बैद्य जस्ता ब्यापारी भने १० प्रतिशत कमिसनका लागि खोप समेत ल्याउन दिइरहेका छैनन् ।
सूरज बैद्य प्रधानमन्त्री केपी ओलीका निकट ब्यापारी हुन् । पर्यटनको प थाहा नभए पनि ओलीले उनलाई भिजिट २०२० को संयोजक बनाएका थिए । स्व. आङछिरिङ शेर्पाको निधनपछि प्रधानमन्त्री ओलीको किचनमा पुग्ने ब्यापारीका रुपमा बैद्यलाई लिन सकिन्छ ।