काठमाडौँ । देशको अधिकांश ठाउँमा बादल लागेको छ । पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको समेत प्रभाव रहेकाले सबैजसो पहाडी भूभागमा बादल लागेर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।
केही ठाउँमा मेघगर्जन, हावाहुरी र चट्याङ्गको समेत सम्भावना छ । तराईमा पनि आज आंशिक बादल लाग्ने र केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा आज बेलुकीपख हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना छ ।
स्थानीय र पश्चिमी वायुको प्रभाव आउँदो तीन दिनसम्म नै रहने भएकाले आइतवारसम्म नै देशका धेरैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी पर्ने क्रम चलिरहने महाशाखाले जनाएको छ ।