काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाउन भीड बढ्न थालेपछि त्यहीँबाट कोरोना फैलन सक्ने त्रास भएको भन्दै भीड व्यवस्थित गर्न स्थानीयवासीले माग गरेका छन् । कोरोना बिरुद्धको खोप लगाउन राजधानीका अस्पतालहरुमा बिहानैदेखि लाइन देखिन्छ । जसका कारण कोरोना संक्रमण नियन्त्रण होइन, झन् फैलिने कुरालाई मध्यनजर गर्दै खोप लगाउने कार्य ब्यवस्थापन गर्दा स्वास्थ्य मापदण्डलाई अनुशरण गनुपर्ने स्थानीयले माग गरेका छन् ।
गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजमा खोप लगाउन दैनिक हजारौँ मानिस लाममा बस्न थालेका छन् । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा मात्र खोप लगाउने केन्द्र तोकिएपछि वरपरका अन्य स्थानीय तहका साथै सीमा जोडिएका सिन्धुपाल्चोक र नुवाकोटका स्थानीय तहका मानिससमेत खोप लगाउन आउन थालेका छन् ।
बिहान १०ः०० बजेदेखि खोप लगाउन ५ः०० बजेदेखि नै मानिस लाममा बस्न आउन थालेका छन् । खोप लगाउन लाममा बसेपछि भीड हुन थालेपछि छाडेर हिँडेको गोकर्णेश्वर–७ का मङ्गलबहादुर तामाङले गुनासो गरेका छन् । अन्य स्वास्थ्य संस्थामा पनि खोप लगाउन तोकेर कम भीड गर्न सकिने भए पनि यसतर्फ सरोकार भएका निकायले ध्यान नदिएको उनको भनाइ छ ।
गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्याय प्रदेश सरकारबाट आएको खोप जिल्ला जनस्वास्थ्य कार्यालयले नै केन्द्र तोकेर लगाएकाले स्थानीय सरकारलाई यस विषयमा समन्वय नगरिएको बताउँछन् । नगरपालिकालाई खोप दिए व्यवस्थित रुपमा लगाउने व्यवस्था मिलाउँ छौँ भनी माग गर्दा पनि पाउन नसकिएको शाखाले जनाएको छ ।
जनस्वास्थ्यबाट खोप केन्द्र संयोजकका रुपमा खटिनुभएका डा.निश्चल ढकाल शुरुका केही दिन मानिस नआएकामा विगत तीन दिनअघिदेखि हजारौँ मानिस लाममा बस्न थालेको बताउँछन् । कलेज खोप केन्द्रमा शुरुका केही दिन पाँचदेखि सात जनाले मात्र खोप लगाएका थिए । पछिल्लो तीन दिनदेखि भने दैनिक एक हजारदेखि एक हजार ५ सय जनासम्मलाई खोप लगाउन थालिएको छ । कर्मचारी सङ्ख्या, भीड व्यवस्थापनलगायत कारणले त्यसभन्दा बढीलाई एकै दिन खोप लगाउन नसकिने उनको भनाइ छ ।
हजारौँ मानिस लाममा बसिरहेका बेला बीचबीचबाट दबाबका आधारमा मानिस छिराउने गरेकाले समस्या हुने गरेको पनि लाममा बस्नेको गुनासो छ । प्रहरी परिचालन गरेर खोप केन्द्रमा लाममा बस्नेलाई खोप लगाउने व्यवस्था गर्न तीन घण्टादेखि लाम बस्ने रचना भुजेलले माग गरेका छन् । काठमाडौंका प्राइभेट अस्पतालहरुमा कोभिड खोप बिना लाइन लगाइदिने भनेर घुस समेत असुली गरिएको गुनासो पनि सार्वजनिक रुपमा आउन थालेको छ । पुरानो सरकारी अस्पताल वीरमा समेत भारतीयहरुलाई घुस लिएरश खोप लगाउने गरेको आरोप खोप कैन्द्रका कर्मचारीमाथि लागेको छ ।