Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • ‘आईजीपी हटाउने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन’: रास्वपा प्रवक्ता


    आइतबार, कार्तिक ३० २०८३
    0
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)हटाउने वा पदमा कायम राख्ने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन् ।

    आईतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले आईजीपी हटाउने वा राख्ने विषय सरकारको निर्णय र विवेकमा निर्भर रहने बताएका हुन् ।

    सरकारले दानबहादुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षकबाट हटाएर डा. मनोज केसीलाई नियुक्ति गरेको थियो । त्यस यता आम नागरिक र पार्टी पंक्तिबाटै सरकारको आलोचना हुँदै आएको छ । उनले पार्टीले आईजीपीलाई हटाउन वा पदमा कायम राख्न सरकारलाई कुनै दबाब वा निर्देशन नदिएको दोहोर्‍याए । खरेलले यस विषयमा सरकारका तर्फबाट पनि धारणा सार्वजनिक भइसकेको उल्लेख गर्दै थप आवश्यक विषय सरकारले नै स्पष्ट पार्दै जाने बताए।

    उनले भने, ‘नेपाल प्रहरीका आईजीपीलाई हटाउने वा यथावत् राख्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन । आईजीपीलाई हटाऊ वा राख भन्ने दुवै किसिमको निर्देशन पार्टीले नदिएको कुरा म पुनः स्पष्ट पार्न चाहन्छु । यो सरकारको विवेक र निर्णयको विषय हो । पछिल्लो समय सरकारका तर्फबाट पनि यसबारे धारणा सार्वजनिक भइसकेको छ । यो विषय अदालतसम्म समेत पुगेकाले अहिले विभिन्न प्रक्रियामा रहेको छ । आवश्यक परेमा सरकारले यसबारे थप स्पष्ट पार्दै जानेछ ।’

    आईजीपीसँग सम्बन्धित विषय अदालतसम्म पुगिसकेको र कतिपय प्रक्रिया अघि बढिरहेको अवस्थामा पार्टीले थप टिप्पणी गर्नु उपयुक्त नहुने उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार