Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • अन्तिम ओभरसम्म रोमाञ्चक बनेको खेलमा चितवनको जित, विराटनगर ८ रनले पराजित


    मंगलबार, कार्तिक ११ २०८३
    85
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा समेटिएपछि चितवनले रोमाञ्चक जित निकालेको हो।

    विराटनगरका लागि इमरान शेखले सर्वाधिक ३९ रन बनाए। आक्रामक ब्याटिङ गरेका आन्द्रे रसेलले १७ बलमा चार छक्का र एक चौकासहित ३३ रन जोडे। रसेलको विस्फोटक प्रदर्शनले खेललाई रोमाञ्चक बनाए पनि विराटनगरलाई जित दिलाउन पर्याप्त भएन।

    त्यस्तै, लोकेश बमले २६ र बसिर अहमदले १३ रनको योगदान दिए। लक्ष्य पछ्याउने क्रममा विराटनगरले नियमित अन्तरालमा विकेट गुमाउँदा आवश्यक रन जुटाउन सकेन।

    चितवनको जितमा कमलसिंह ऐरीको बलिङ निर्णायक बन्यो। उनले चार विकेट लिँदै विराटनगरको ब्याटिङ क्रमलाई दबाबमा राखे। रिजन ढकालले दुई विकेट हात पार्दा टम टेलर, डान मोस्ली, मौसम ढकाल र रन्जित कुमारले समान एक–एक विकेट लिए।

    चितवनका बलरले विराटनगरका सबै १० विकेट लिँदै लक्ष्य रक्षा गरेका हुन्। विशेष गरी अन्तिम चरणसम्म प्रतिस्पर्धामा रहेको विराटनगरलाई १९.३ ओभरमै समेट्न सफल भएपछि चितवनले आठ रनको जित सुनिश्चित गर्‍यो।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५७ रन बनाएको थियो।

    चितवनको इनिङ्समा ओपनर डेविड मलानले सर्वाधिक ७० रनको योगदान दिए। उनले पाँच चौका र पाँच छक्का प्रहार गर्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याए। मलानले ४१ बलमा अर्धशतक पूरा गरेका थिए।

    चितवनका लागि कप्तान रवि बोपारा ३२ रनमा अविजित रहँदा डान मोस्लीले अविजित २९ रन जोडे। देव खनालले १२ रन बनाए।

    विराटनगरका बलरमध्ये एंगेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले समान एक-एक विकेट लिए। चितवनले तीन विकेट मात्रै गुमाएर निर्धारित ओभर पूरा गरेको थियो।

    खेलमा चितवनका मलानको अर्धशतक र ऐरीको चार विकेट जितका मुख्य आधार बने। विराटनगरका रसेलले छोटो इनिङ्समा आक्रामक ब्याटिङ गर्दै खेललाई अन्तिम चरणसम्म प्रतिस्पर्धात्मक बनाए पनि टोली पराजयबाट जोगिन सकेन।

    यस जितसँगै चितवनले एनपीएलको तेस्रो संस्करणमा आफ्नो पहिलो खेलबाट सकारात्मक सुरुवात गरेको छ भने विराटनगरले पहिलो खेलमै पराजय बेहोरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार