Nepal Face
  • बिहिबार, ८ असोज २०८३
  • प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु


    बिहिबार, असोज ८ २०८३
    60
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । संसदीय सुनुवाइ समितिले सरकारले विभिन्न १३ मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ ।

    बिहीबार बसेको समितिको बैठकले प्रस्तावित राजदूतहरूको योग्यता, कार्ययोजना र उनीहरूविरुद्ध आउन सक्ने उजुरीलाई आधार बनाएर सुनुवाइ प्रक्रियालाई दशैँअगावै सम्पन्न गर्ने गरी कार्यतालिका तय गरेको हो । समितिका सभापति वोधनारायण श्रेष्ठकाअनुसार सुनुवाइ प्रक्रियालाई प्रभावकारी र छिटो बनाउन तीनवटा समानान्तर आधारहरूमा काम गरिनेछ । जसमा प्रस्तावित राजदूतहरूको शैक्षिक योग्यता र बायोडाटा, उनीहरूले प्रस्तुत गर्ने कार्ययोजना र नागरिक तहबाट प्राप्त हुने उजुरीहरू समावेश छन् । समितिले यी विषयहरूको अध्ययन कार्यलाई तीव्रता दिएको छ ।

    बैठकले सुनुवाइ प्रक्रियालाई पारदर्शी बनाउन सार्वजनिक सूचना जारी गरी १० दिने म्याद दिने निर्णय गरेको छ । यसअनुसार आगामी १९ गतेसम्म उजुरी आह्वान गरिनेछ र २० गते बस्ने अर्को बैठकमा प्राप्त उजुरीहरूको अध्ययन तथा थप प्रक्रियाबारे छलफल हुनेछ । समितिले प्रस्तावित राजदूतहरूबाट नतिजामुखी कार्ययोजनासमेत माग गर्ने निर्णय गरेको छ ।

    संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न भएपछि समितिले अनुमोदन गरेका नामहरू सरकारले सम्बन्धित मुलुकमा ‘एग्रिमो’ (सहमतिका लागि) पठाउनेछ । सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त भएसँगै राष्ट्रपतिबाट राजदूतको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । सरकारले भारत, चीन, अमेरिका, बेलायत, जापान, इजरायल, स्पेन, जर्मनी, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलङ्का र साउदी अरेबियाका लागि विभिन्न क्षेत्रका विज्ञ तथा व्यक्तित्वहरूलाई राजदूतमा सिफारिस गरेको थियो ।

    भारतका लागि डा. निश्चलनाथ पाण्डे र चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, यूके(संयुक्त अधिराज्य)का लागि पूर्वप्रधानसेनापति गौरव शमशेर जंगबहादुर राणा, जापानका लागि जिज्ञानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी र ओमानका लागि डा। पद्माक्षी राणालाई सिफारिस गरेको थियो । मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा.मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदुतका रूपमा सिफारिस गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार