Nepal Face
  • आइतबार, २४ साउन २०८३
  • स्वास्थ्य मन्त्रीको निर्णय डाक्टरले मानेनन्, प्रदेश आपूर्तिका प्रमुख ५६ दिनसम्म सरुवा भएको अस्पताल गएनन्


    आइतबार, साउन २४ २०८३
    185
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । मधेश प्रदेशको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुखको दोहोरो जिम्मेवारीमा रहेका डा. नागेन्द्रकुमार यादवको भरतपुर अस्पतालमा सरुवा भएको २ महिना पुग्न लागिसक्दा पनि उनले रमाना लिएका छैनन् ।

    यादवसहितका ११ औं तहका चिकित्सकहरुको गएको असार १ गते काजसरुवा भएको थियो । कानुनमा सरुवा भएको २१ दिनभित्र खटाएको कार्यालयमा हाजिर हुनैपर्ने ब्यवस्था छ । तर, सरुवा भएको ५६ दिन बितिसक्दा पनि डा. यादव सरुवा भएको कार्यालय भरतपुर अस्पतालमा हाजिर हुनगएका छैनन् ।

    मधेश प्रदेशको स्वास्थ्य सेवा अन्तर्गत ११ औं तहका ४ जना कर्मचारी छन् । तर यादवलाई महत्वपूर्ण २ निकायको प्रमुखको जिम्मेवारी दिइएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा सुनिल कुशवाहाको समूह मिल्ने भए पनि उनलाई काजमा सिरहा अस्पतालमा पठाएर नागेन्द्र यादवलाई दोहोरो जिम्मेवारी दिइएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावका क्रममा नातागोता र आफन्तको सरुवा र नियुक्ति नगर्ने प्रतिबद्धता पटक–पटक प्रकट गरेका भए पनि यादव भने परिवारकै सदस्यमार्फत् सरुवा रोकाउन लागिपरेका छन् । डा. यादवकी श्रीमती नविता यादव रास्वपा केन्द्रीय सदस्य हुन् । उनैमार्फत् उनी सरुवा रोकाउन स्वास्थ्य मन्त्री निशा मेहतादेखि प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयसम्म दौडधूप गरिरहेकी छन् ।

    श्रीमतीमार्फत् सरुवा रोकाउन लागेकाले उनी कानुनबिपरीत मधेश प्रदेश आपूर्ति केन्द्रमा बसिरहेका छन् । श्रीमतीमात्र होइन, स्वास्थ्य उपकरण माफिया बिशाल पण्डित पनि यादवलाई मधेश प्रदेश आपूर्ति केन्द्रमै टिकाउन शक्तिकेन्द्रमा धाइरहेका छन् ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले यादवको काजसरुवा बदर गर्दा अरुको पनि गर्नुपर्ने भएकाले असमर्थता जाहेर गरेपछि पनि उनी रमाना नबुझी अझै शक्तिकेन्द्रमार्फत् रोकाउन लागिरहेका छन् ।

    ५६ दिनसम्म खटाएको कार्यालयमा नगएको र खरिदको निर्णय गरेको बारेमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले भने–कानुनतः सरुवा भइसकेको कर्मचारी २१ दिनभित्र रमाना लिएर जानैपर्छ । हामीले एकपटक रमाना लिएर खटाएको कार्यालयमा जान ताकेता गरिसकेका छौं । उहाँलाई रमाना लिनका लागि फेरि ताकेता गर्छौं । सरुवा भइसकेको कार्यालय प्रमुखले ठूला ठूला खरिदका निर्णय गर्न लागेकोबारेमा सचिव देवकोटाले भने–‘सरुवा भइसकेको अधिकारी कानुन अनुसार खटाएको कार्यालयमा जानुपर्छ ।’

    स्वास्थ्य मन्त्रालयले ताकेता गर्दा पनि रमाना लिएर खटाएको कार्यालयमा अटेरी गर्दैआएका डा. यादवले आपूर्ति केन्द्रबाट धमाधम स्वास्थ्य उपकरणको बोलपत्र गर्ने तयारी गरेका छन् । उनले करोडौंका उपकरण खरिदका टेण्डर गर्ने तयारी गरेका छन् । बिशाल पण्डित र उनको परिवारका कम्पनीसँग मिल्नेगरी उनले टेण्डरको तयारी गरेको आरोप छ ।

    पण्डितले बजेट वक्तब्यअगाडि नै सेटिङ गर्ने र आफ्ना कम्पनीसँग मात्र उपकरण खरिद गर्नेगरी स्पेक राखेकाले त्यही अनुसार यादवले टेण्डर गर्ने तयारी गरेका छन् ।

    मधेश प्रदेशमा गुणस्तरहीन उपकरण आपूर्ति गरेकोमा पण्डितबिरुद्ध अख्तियारले यसअघि भ्रष्टाचार मुद्दा पनि चलाइसकेको छ । मधेश प्रदेश सरकारद्वारा प्रदेशभित्र विभिन्न स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापनाका लागि आर्थिक बर्ष २०७९–०८० मा गरिएको ठेक्कामा ५२ करोड ४२ लाख ५४ हजार भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ बेशाख १४ मा बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    ती उपकरणको ठेक्का बिशाल पण्डित र उनका परिवारका नाममा रहेको हस्पिटेक इन्टरप्राइजेज प्रालिले पाएको थियो । खरिदको प्राविधिक स्पेसिफिकेसन तयार गर्दा बोलपत्रदाता हस्पिटेक इन्टरप्राइजेज प्रालिसँग मिलेमतो देखिएको अख्तियारले गरेको अनुसन्धानमा देखिएको थियो  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार