Nepal Face
  • सोमबार, १८ साउन २०८३
  • विवादित र अनियमिततामा मुछिएका डा. श्यामबाबुलाई काउन्सिलको अध्यक्ष बनाउने तयारी, छनोट समितिलाई मन्त्रीको दबाब


    सोमबार, साउन १८ २०८३
    380
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा डा. श्यामबाबु यादव जस्ता विवादित र लाभका सबै पद लिइसकेकालाई नियुक्ति गर्ने तयारी भएको छ ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ संयोजक रहेको छनोट समितिले यादवको नियुक्ति गर्नेगरी सिफारिस गर्ने तयारी गरेको छ । परिषदको अध्यक्ष पदका लागि यादवसहित ४ जनाको नाम संक्षिप्त सूची(सर्टलिष्ट) निकालिएको थियो । जसमा डा. जया सत्याल, डा. देवकला भण्डारी, सिद्धार्थ ठाकुर र श्यामबाबु यादवको नाम छ ।

    यादवलाई सहज बनाउनका लागि उनी आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको कार्यकारी निर्देशक रहेका बेला अध्यक्ष रहेका डा. धनिकलाल भरखेरलाई बिशेषज्ञका रुपमा राखिएको छ । धनिकलालले डा श्यामबाबुलाई अध्यक्ष बनाउनका लागि विज्ञ हुनुअघि नै बिभिन्न शक्तिकेन्द्रमा लबिङ गर्दैआएका थिए ।

    मन्त्रालयले उनैलाई विज्ञको रुपमा राखेर डा. श्यामबाबुको सिफारिस सुनिश्चित गर्न खोजेको छ । मधेश प्रदेशका समानुपातिक र प्रत्यक्षबाट निर्वाचित रास्वपाका सांसदहरु पुरुषोत्तम यादव, शिव यादव, बब्लु गुप्ता, रामविनोद यादव लगायतलाई श्यामबाबुले आफ्नो नियुक्तिका लागि परिचालन गरेका छन् । सप्तरी माइतीघर भएकी स्वास्थ्य मन्त्री निशा मेहतालाई प्रभावित पार्नका लागि श्यामबाबुले सामदाम सबै प्रयोग गरिसकेका छन् ।

    श्यामबाबु आयुर्वेदका प्रायः सबै महत्वपूर्ण निकायका प्रमुख पदमा पुगिसकेका छन् । दशौं तहका उनी ११ औं तहको दरबन्दी रहेको आयुर्वेद बिभागको २ पटक निमित्त महानिर्देशक भइसकेका छन् । महानिर्देशक हुँदा निजी निवासमा प्रयोग हुने दैनिक प्रयोग हुने घरायसी सामानहरुसमेत सरकारी रकमबाट खरिद गरी स्टोर प्रमुख रहेका डा. मुनकर्ण थापामार्फत् लिने गरेको आरोप छ ।

    आयुर्वेद क्षेत्रमा डा. मुनकर्ण सबैभन्दा बढी आयुर्वेद तथा बैकल्पिक चिकित्सा बिभागमा खरिद प्रमुख सम्हालेका थिए । प्रशासनका उपसचिव हुँदाहुँदै आयुर्वेदका चिकित्सकलाई खरिद शाखाको प्रमुख बनाउने बिचित्र प्रचलन बिभागमा परम्पराका रुपमा रहँदैआएको छ ।

    बुढानीलकण्ठमा निर्माणाधीन राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रमा आवश्यकै नभएका उपकरण र कार्यालय प्रयोजनका सामान आफूनिकट सप्लायर्समार्फत् खरिद गरी कमिसन अग्रिम बुझेको आरोप पनि उनीमाथि छ । ती उपकरण र सामान कमिसनकै लागि यादवले आफू महानिर्देशक हुँदा खरिद प्रमुख डा. मुनकर्ण थापासँग मिलेर किनेका थिए । खरिद गरिएका मध्ये आधाभन्दा सामान आवश्यक नै नभएको बिभागका अधिकारी बताउँछन् ।

    हरेक खरिदमा श्यामबाबुसँग भागशान्ति बुझ्दैआएका र हाल अवकाश पाएका उनै मुनकर्ण अहिले श्यामबाबुलाई आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा रोक्न भगिरथ प्रयत्नका साथ लागेका छन् । परिषदको अध्यक्षमा मुनकर्णको रोजाइ डा. जया सत्याल हुन् । श्यामबाबु आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको कार्यकारी निर्देशकमा पटक पटक गरी करिब ८ बर्ष काम गरिसकेका छन् । केन्द्रमा रहँदा अनुसन्धानका नाममा अन्त सार्वजनिक भएको रिपोर्टलाई केन्द्रको अनुसन्धान रिपोर्टका रुपमा पेश गरी लाखौं रुपैयाँ भुक्तानी लिएको, करारका कर्मचारी भर्ना गर्दा तहअनुसारको दररेट असुली गरेको, केन्द्रको बजेट चरम दुरुपयोग केन्द्रको छवि नै बिगार्ने काम गरेको लगायतका आरोप उनीमाथि लागेको छ ।

    त्यसैगरी, नरदेवी अस्पतालको प्रमुख रहँदा एउटै सामान खरिदमा २० लाख रुपैयाँसम्म घुस लिएको, आफूनिकट सप्लायर्समार्फत् औषधि खरिद गरी मिलेमतोमा लाखौं लाख घोटाला गरेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ ।

    त्यसैगरी सिंहदरबार बैद्यखानाको कार्यकारी निर्देशकसमेत भइसकेका यादव आयुर्वेद चिकित्सक संघको अध्यक्ष पनि भइसकेका छन् । स्वास्थ्य मन्त्रालय अन्तर्गतका आयुर्वेदका उपरोक्त सबै बिभाग, केन्द्र र बिकास समितिदेखि संघसमेत भ्याइसकेका श्यामबाबुलाई अहिले परिषदको अध्यक्ष बनाउनका लागि स्वास्थ्य मन्त्री मेहताकै जोडबल रहेको छ । सोमबार अध्यक्षका दाबेदारहरुको अन्तर्वार्ता छनोट समितिले लिइसकेको छ । र, संभवतः आजै बेलुकै छनोट समितिले पहिलो नम्बरमा श्यामबाबु यादवको नाम राखेर ३ जनाको नाम सिफारिस गर्ने तयारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार