Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः खुला 


    शुक्रबार, साउन १ २०८३
    440
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ । काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना गत ५ असारदेखि बन्द गरिएको थियो ।

    सङ्क्रमण नियन्त्रणका लागि बिरामी पन्छीहरूको उपचार, सरसफाइ तथा आवश्यक व्यवस्थापनका सम्पन्न भएपछि वातावरणीय नमुनाको परीक्षणमा एभियन इन्फ्लुएञ्जा ९बर्डफ्लू० भाइरस नदेखिएकाले चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको हो ।

    चिडियाखाना प्रशासनका अनुसार बिहीबार पशुसेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले चिडियाखाना पुनःखोल्ने निर्णय गरेको हो ।

    चिडियाखानाका प्रवक्ता तथा सूचना अधिकारी गणेश कोइरालाका अनुसार चिडियाखाना बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म प्रवेशका लागि खुला रहनेछ भने अवलोकनकर्ताले बेलुका ५ बजेभित्र बाहिरिनु पर्नेछ ।

    सदर चिडियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पक्षीसँग सुरक्षित दुरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ । यसअघि सङ्क्रमित देखिएका खोरहरू रातो रिबनले घेरिएको जनाउँदै ती क्षेत्रमा अनावश्यक रूपमा नबस्न र दुरी कायम गर्न अनुरोध गरिएको छ ।

    त्यसैगरी, आफूसँग ल्याएका खानेकुरा खुला स्थानमा नखान, प्रयोगपछि फोहर डस्टबिनमा व्यवस्थित रूपमा फाल्न तथा अनिवार्य रूपमा मास्क प्रयोग गर्न पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार