Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कुपोषण पहिचानमा गुणस्तरहीन उपकरण प्रयोग गरिंदै, आजदेखि सुरु अभियानमाथि नै उठ्यो प्रश्नचिह्न


    मंगलबार, बैशाख १५ २०८३
    2.3K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । पाँच वर्षमुनिका बालबालिकाको कुपोषण पहिचानका लागि अति आवश्यक रहेको पोषण अवस्था मापन गर्ने उपकरण (डिजिटल वेट मेसिन) को गुणस्तरको बिषयमा गम्भीर प्रश्न खडा उठेको छ ।

    बालबालिकाको पोषण अवस्था मापन गर्न प्रयोग हुने उपकरण नै मापदण्डविपरीत र गुणस्तरहीन खरिद गरिएको पाइएपछि सरकारले बैशाख १५ देखि ३० गतेसम्म देशभर संचालन गर्न लागेको ‘शीघ्र कुपोषण पहिचान’ अभियानअन्तर्गतको कार्यक्रमको औचित्यमाथि प्रश्न उठेको छ ।

    देशभरका ७ सय ५३ पालिकामा रहेका ६ महिनादेखि ५९ महिनाका बालबालिकाको तौल, उचाइ, लम्बाइ तथा पाखुराको नाप मापन गर्ने लक्ष्यका साथ यो अभियान संचालन हुँदैछ ।

    नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले चालु आर्थिक बर्षमा खरिद गरेको उपकरण २०८३ बैशाख पहिलो हप्ताभित्र प्रत्येक प्रदेशका स्वास्थ्य निर्देशनालयमा पठाइएको छ ।

    नेपाल सरकारले २०८३ बैशाख १५ देखि ३० गतेसम्म देशभर संचालन गर्न लागेको शीघ्र कुपोषण पहिचान अन्तर्गत पोषणको लेखाजोखा कार्यक्रम सुरु हुनुपूर्व नै प्रदेश सरकार अन्तर्गतका स्वास्थ्य निर्देशनालयले लिखित रुपमा गुणस्तरहीन भएको भन्दै यही उपकरणबाट उक्त कार्यक्रम कार्यान्वयन गर्न नसकिने चेतावनी परिवार स्वास्थ्य महाशाखालाई दिइसकेका छन् ।

    परिवार कल्याण महाशाखाले जारी गरेको निर्देशिकामा युनिसेफको सिफारिस अनुसार सेका कम्पनीका उपकरण प्रयोग गर्नुपर्ने र नेपालमा हालसम्म सोही कम्पनीका पोषण मापन उपकरण प्रयोग हुँदैआएका छन् । तर यसपटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. केशर ढकाल, आपूर्ति ब्यवस्थापन महाशाखाका प्रमुख केशवराज पण्डित र परिवार कल्याण महाशाखाका निर्देशक डा. मदन उपाध्यायको सेटिङमा यसअघिको मापदण्डलाई लत्याउँदै फरक स्पेक राखी मिलेमतोमा गुणस्तरहीन उपकरण खरिद गरिएको आरोप छ । जसका कारण ‘शीघ्र कुपोषण पहिचान’ अभियानको औचित्यमाथि नै प्रश्न उठेको छ ।

    प्रदेशहरुमा पठाइएका यी उपकरणहरु परीक्षणकै क्रममा असफल भएका छन् । ‘शीघ्र कुपोषण पहिचान’ गर्ने केही उपकरण मापदण्ड अनुसार भए पनि उचाई र लम्बाई मापन गर्ने मुख्य सामग्री ADE  कम्पनीको आएको, त्यो मापदण्ड बिपरीत रहेको पाइएको छ । कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. ज्ञानबहादुर बस्नेतले लिखित रुपमै स्वास्थ्य सेवा बिभागलाई पत्र लेखेर ‘शीघ्र कुपोषण पहिचान’ मापन गर्ने डिजिटल वेट मेसिनको कैफियतका बारेमा सबिस्तार उल्लेख गरेर पठाएका छन् ।

    २०८३ बैशाख ११ गते बस्नेतले बिभागलाई लेखेको पत्रमा उचाई र लम्बाई नाप्ने सामग्री ब्म्भ् भन्ने ब्रान्ड लेखिएको प्राप्त भएको, उचाइ नाप्ने बोर्डमा सतह नमिलेको, जाँच गर्ने पानीको लेभल नभएको, स्वास्थ्यकर्मीको भनाइ अनुसार स्केलमा पनि फरक पर्नसक्ने भनी स्थानीय तहबाट गुनासो आएको, उपकरण राख्ने झोला बिगतको भन्दा अति न्यूनस्तरको भएको, यसअघि प्राप्त तौल लिने १ सय वटा उपकरणमा ब्याट्री र चार्जर नभएको लगायतका अरु धेरै कैफियत देखाइएको छ ।

    एउटै कार्यक्रम संचालनका लागि दुई प्रकारका सामग्री प्राप्त भएको हुँदा नेपाल सरकारको पूर्वघोषित ‘शीघ्र कुपोषण पहिचान’ अभियान संचालन गर्न कठिनाई उनले जानकारी गराएका छन् ।

    ६ महिनादेखि ५९ महिनासम्मका शिशु तथा बालबालिकामा एन्थ्रोपोमेटिक मेजरमेन्ट बिधिबाट पोषण लेखाजोखा गर्ने कार्यक्रम बैशाख १५ देखि ३० गतेसम्म देशब्यापी रुपमा संचालन गर्ने नेपाल सरकारले घोषणा गरेको छ ।

    प्रदेश सरकारमार्फत् स्थानीय तहसम्म पुग्ने उक्त उपकरणका बारेमा लिखित रुपमै कैफियत देखाउँदा पनि स्वास्थ्य मन्त्रालयले गम्भीरतापूर्वक लिनसकेको छैन । गुणस्तरहीन उपकरण खरिद गरिएकाले उक्त कार्यक्रम नै धरापमा पर्ने भएको छ । र, कुपोषणको पहिचान नै नहुने देखिएको छ ।

    बागतमती प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी शिवप्रसाद बडालले उपकरणको कैफियतका बारेमा परीक्षण हुन बाँकी रहेकाले केही भन्न नसकिने बताए । उक्त कार्यक्रमकै अनुगमनका लागि काठमाडौं आएका बडालले संघीय सरकारको कार्यक्रम र बजेटबाट खरिद गरिएका उपकरण भएकाले गुणस्तरका बारेमा आफूहरु अनभिज्ञ रहेको प्रतिक्रिया दिए । अब कार्यक्रम संचालन भएपछि मात्र उपकरणका बारेमा केही बताउन सकिने उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार