Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेइतरको बैकल्पिक सरकार निर्माणः प्रचण्डलाई हतारो, देउवालाई छैन चटारो 


    बुधबार, फाल्गुन २६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । एमाले इतरको सरकार बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जति हतारो छ, त्यति हतारोमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी देखिएका छैनन्  ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमाले विशेषगरी प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्ने पक्षमा आतुर छैनन् । संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर आयोगहरुमा नियुक्तिदेखि नै भागबण्डा गर्दैआएका देउवा ओलीसँगै सहकार्य गर्ने पक्षमा छन् । तर ओलीले संसद बिघटन गरेर कांग्रेसको नेतृत्वमा बनेको संविधानको भावनाविपरीत काम गरेकाले यस्तो प्रतिगमनकारी कदम चाल्नेको समर्थन गर्नु नहुने आवाजका कारण उनी खुलेर वर्तमान सरकारको पक्षमा आउन सकेका छैनन् । तर देउवामा सरकार फेरिहाल्ने चटारो पनि देखिंदैन । उनी एमालेकै समर्थनमा प्रधानमन्त्री भए भने पनि अचम्म नमाने हुने कांग्रेस पंक्तिको भनाइ छ ।

    प्रचण्डले चुनावमा एमालेसँग तालमेल गरेर धोका दिए। एमालेसँग पार्टी एकता नगरे ५ बर्ष प्रधानमन्त्री बनाउँछु भन्दा पनि एकतामा गएकाले देउवा उनलाई धोका दिने ब्यक्तिका रुपमा लिन्छन् । देउवा प्रचण्डभन्दा ओलीलाई विश्वसनीय शक्तिका रुपमा लिन थालेका छन् । 

    जसपाभित्र पनि साकिव राजपा ओलीसँग नजिकिएको छ । साविकको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओलीसँग मिल्ने पक्षमा सकारात्मक छैनन् । यस्तो अवस्थामा जसपामै विभाजन आउन सक्ने देखिएको छ । राजपाका ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारीहरु ओली सरकारमै जाने पक्षमा छन् ।

    टीकापुर काण्डमा अदालतको आदेशले थुनामा रहेका रेशम चौधरीको मुद्दा फिर्ता लिने, संविधान संशोधन गर्ने जस्ता मुद्दाका बिषय सम्बोधन गर्ने प्रतिबद्धता जनाउनासाथ जसपाको ठाकुर पक्ष सरकारमा जाने पक्षमा देखिएको छ । उपेन्द्र र बाबुराम सहमत नभए जसपा नै फुटाएर ओली सरकारमा जान महन्थ ठाकुरहरु अगाडि बढिसकेको स्रोत बताउँछ । आज जसपाका नेता ठाकुर र महतोले प्रचण्डसँगको भेटमा जसले आफ्नो मुद्दा सम्बोधन गर्छ त्यहीसँग मिलेर सरकार बनाउने बताएकाले पनि ओलीतिरै उनीहरुको मन ढल्किसकेको संकेत गरेको छ ।

    प्रचण्डले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवास बुढानीलकन्ठमा गएर भेटेका थिए । भेटमा देउवाले प्रचण्डलाई जसपासँग कुरा गर्नुस् भनेर फर्काइदिएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार