Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • ८ लाख घुसको रकम फालेर गाउँपालिका अध्यक्ष फरार, सवारी चालक पक्राउ


    मंगलबार, फाल्गुन १८ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धनुषा । धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले लिएको ८ लाख रुपैयाँ घुस बाटामै फालेर फरार भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेको थाहा पाएपछि उनी उक्त घुस बाटामै फालेर फरार भएका छन् । राउत सवार गाडीका चालक वीरबहादुर मगर पक्राउ परेका छन् ।  

    वडाध्यक्ष राउत क्षेत्रीले भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट टोली खटिई गएको थियो ।  

    अध्यक्ष राउत क्षेत्री उक्त गाउँपालिकाका सवारी चालक वीरबहादुर मगरले चलाएको प्रदेश २–०२–००१ झ ०००२ नम्बरको कालो रंगको स्कर्पियो गाडीमा रु. ८ लाख अतिरिक्त रकम लिई भाग्ने क्रममा धनुषाको छिरेश्वर नगरपालिका वडा न ५ को बाटो हुँदै गएका थिए । अख्तियारको टोलीले उनको पिछा गर्न नछाडेपछि उनले उक्त ८ लाख घुसको रकम फ्याकी फरार भएका छन् । उनका सवारी चालक  मगरलाई वटेश्वर वडा नं. ४ बाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

    अख्तियारको टोलीले ८ लाख रुपैयाँ छिरेश्वर न.पा. वडा नं ५ को बाटो छेउको जमिनमा फालिएको अवस्थामा फेलापारी सोमबार सवारी चालकलाई र उक्त रकम नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार