Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • मधेशका पाँच सांसद पदमुक्त गर्ने सभामुखको निर्णय उपसभामुखद्वारा बदर


    शुक्रबार, कार्तिक २८ २०८२
    545
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले होटलमा मुख्यमन्त्री सरोज यादवलाई सपथ गराएपछि सुरु भएको मधेश प्रदेशको राजनीतिक विवाद झन् गहिरिंदै गएको छ । सभामुखले सांसदहरुलाई पदमुक्त गर्ने र उपसभामुखले निर्णय बदर गर्ने क्रम सुरु भएको छ ।

    पछिल्लो समय सभामुख रामचन्द्र मण्डल र दलहरूबीचको विवाद उत्कर्षमा पुगेको छ । सभामुख रामचन्द्र मण्डलले बिहीबार बैठकमा अनुपस्थित भएको भन्दै पाँच सांसद पदमुक्त गर्ने निर्णय गरेका थिए ।

    सभामुखले उर्मिलादेवी सिंह, मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन सा कलवार, सारदा शंकरप्रसाद कलवारलाई कारबाही गर्दै पदमुक्त गरेका थिए । तर, उपसभामुख बबिताकुमारी राउत ईशरले उक्त निर्णय बदर गरेकी छन् ।

    राउतको भनाइ छ– ‘यस मधेस प्रदेशसभा सचिवालयको कात्तिक २७ गतेको पाँचजना माननीय प्रदेशसभा सदस्यहरूको पदरिक्तसम्बन्धी सूचना सभामुखले आफूमाथि कात्तिक २७ गते प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८० को उपनियम २ (क) बमोजिम सभामुखको विरूद्ध पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव उपसभामुख समक्ष पेश गरिनुपर्ने व्यवस्था भएबमोजिम प्रस्ताव पेश भइसकेको र सोको उपनियमत (३) बमोजिम छलफलको लागि मिति समय तय हुन बाँकी रहेको अवस्थामा प्रस्तावको प्रतिशोधस्वरूप आवेगमा गरेको निर्णय हो ।’

    कारबाहीमा परेका सांसदहरू पछिल्लोपटक विश्वासको मत लिने बैठकमा उपस्थित भएको देखिएको हुँदा कारबाहीको सूचना बदर गरिएको उनको भनाइ छ ।

    कारबाहीमा परेका सांसद सिंह नागरिक उन्मुक्ति पार्टीका हुन् । सुमन, यादव र कलवारद्वय जसपाकै सांसद हुन । समाभुख मण्डल नेकपा एमालेका हुन । सभामुखविरूद्ध सात दलका ७४ जना सांसदले पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव दर्ता गरेका थिए । प्रतिशोधस्वरूप सांसद कारबाही गर्ने कदम उठाएको भन्दै उपसभामुख राउव ईशरले उक्त निर्णय बदर गरेको बताएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार