Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • बोक्सीको आरोपमा एक महिलाको टाउको मुण्डन गरी मानव मलमुत्र खुवाइयो


    सोमबार, भाद्र २३ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • रौतहट। रौतहटमा फेरि एक पटक बोक्सीको आरोपमा महिलामाथि अमानवीय व्यवहार गरिएको छ ।

    गरुडा नगरपालिका–८ बसबिट्टि जिङ्गडियामा बसोबास गर्ने रामएकवाल साह बानियाकी ५५ वर्षीया श्रीमती सुशिला देवीलाई छिमेकीहरुले निर्घात कुटपिट गर्दै कपाल मुंडन गरी मानव मलमूत्र खुवाएको हृदयविदारक घटना सार्वजनिक भएको छ ।

    स्थानीय ४० वर्षीय दिनेश साह कानु, उनका छोरा २२ वर्षीय गोलु साह कानु र ३५ वर्षीय विक्रम साह कानु लगायत मिलेर आईतवार सुशिला देवीमाथि बोक्सीको आरोप लगाउँदै सामुहिक कुटपिट गरेका हुन् । घटनाको सुरुवात बिहान भएको हो, जब दिनेश साह कानुकी श्रीमती ३७ वर्षीया संगिता देवी अकस्मात बिरामी परिन् ।

    उनलाई उपचारका लागि गरुडास्थित रोमा अस्पताल पुर्याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगञ्ज लैजाने क्रममा दिउँसो २ बजे बाटोमै मृत्यु भयो ।

    संगिता देवीको मृत्युका लागि छिमेकी सुशिला देवीले टुनामुना गरेको आरोप लगाउँदै मृतकको परिवारजनले आक्रोश पोख्दै सुशिला देवीलाई कुटपिट मात्र होइन, कपाल काटेर मलमूत्र समेत खुवाएका हुन् ।

    घटना बारे जानकारी पाउना साथ दिउँसो करिब ३ बजे प्रहरी टोली घटनास्थल पुगेको थियो ।

    इलाका प्रहरी कार्यालय गरुडाका सई ज्ञानेन्द्र ढकालको कमाण्डमा पुगेको टोलीले पीडित महिलालाई उद्धार गरेको हो तर, कुटपिटमा संलग्न तीनै जना भने घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ ।

    पीडित परिवारले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन् ।

    ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले घटनाको पुष्टि गर्दै बोक्सीको आरोपमा कुटपिट गर्ने ७ जना माथी पीडितको तर्फबाट जाहेरी परेको छ।

    महिलालाई कुटपिट गरी टाउको मुण्डन गरेपछि मलमूत्र खुवाएको आरोप लागेको छ। कुटपिट गरेको टाउको मुण्डन गरेको त स्पष्ट छ मलमूत्र ख्याएको हो कि होइन त्यस बारे अनुसन्धान भईरहेको डिएसपी कार्कीले बताए ।

    घटना लगतै पीडकहरु सबैजना घर छोडेर फरार भएकाले उनीहरूको खोजी तथा घटना बारे थप अनुसन्धान भइरहेको डिएस्पी कार्कीले जानकारी दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार