काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चितवन र कपिलवस्तुका अमर सशस्त्र प्रहरी परिवारसँग भेटघाट गरी उनीहरुको दुःख सुखमा संगठन सँगसँगै रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको आठौं बार्षिकोत्सवको अवसरमा शहीद परिवारसँग भेटघाट तथा छलफल गर्नुहुँदै माहनिरीक्षक अर्यालले राष्ट्रसेवक कर्मचारीले बगाएको रगत संगठनले नबिर्सने र शहीद परिवार हुनुमा दुःखी होइन, त्यस्ता वीर सपुत जन्माएकोमा गर्व गर्न आग्रह गर्नुभयो ।
शहीद परिवारले २ छाक खानको लागि चिन्ता गर्नुपर्दैन, अप्ठेरो अवस्थामा नजिकमा रहेको व्यारेकबाट रासन पानी लगेर भए पनि तपाईंहरुको मुहारमा खुशी ल्याउने व्यवस्था मिलाउँछु महानिरीक्षक अर्यालले भन्नुभयो ।
उहाँले संगठनको केन्द्रीय नीति अनुसार अमर सशस्त्र प्रहरीको बार्षिकीमा उहाँहरुको घरमा हुने धार्मिक कार्यमा नजिकको युनिट कमाण्डर वा प्रतिनिधि अनिवार्य उपस्थिति हुन र शहीद परिवारसँग स्थानीय युनिटहरु निरन्तर सम्पर्कमा रहन समेत बाहिनीपतिलाई निर्देशन दिनुभयो ।
सोही अवसरमा नं ३ गढीमाई बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले संगठन, बाहिनी, गण तथा गुल्मको बार्षिकोत्सव, वडाभोज लगायतमा शहीद परिवारसँगसँगै मनाउने गरिएको र उनीहरुको पिरमर्का, समस्या बुझ्ने काम निरन्तर गरिरहेको बताउनुभयो । यसको साथै वीरगति प्राप्त गरेको ठाउँमा उनीहरुको नाममा चौतारा, पाटीपौवा, प्रतिक्षालय, धारा आदि निर्माण कार्यमा समेत सहयोग गर्न महानिरीक्षक अर्यालले निर्देशन दिनुभएको छ ।
भेटघाटमा शहीद परिवारले संगठन आफ्नो सुखदुखमा सँगै भएको आभाष हुँदैगएको र यसलाई निरन्तरता दिन आग्रह गरेका थिए । उनीहरुको आग्रह थियो– हाम्रो सन्तानले देश र संगठनको लागि रगत वगाएका हुन् । तपाईहरु सवै हाम्रा सन्तान सरह हुनुहुन्छ, यसैगरी निरन्तर भेटघाट र सुख दुख बाड्न पाइयोस् ।
महानिरीक्षक अर्यालले कपिलबस्तु जिल्लाका अमर सशस्त्र प्रहरी परिवारसँग समेत भेटघाट तथ छलफल गर्नुभएको छ ।
नं ५ विध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको आठौं बार्षिकोत्सवमा उहाँले भन्नुभयो–देश र जनताको लागि रगत वगाउने सन्तानको परिवार हुनुहुन्छ, त्यसमा हाम्रो उच्च सम्मान छ ।
भेटघाटकै क्रममा उहाँले सशस्त्र प्रहरीका अवकासप्राप्त कर्मचारीहरुलाई अधिकार प्रयोग गर्दा फौजी संस्कार नभुल्न र राष्ट्रको लागि अझै पनि विभिन्न तरिकाबाट योगदान दिनसक्ने भएकाले त्यसमा पनि ध्यान दिन आग्रह गर्नुभयो । विपद्को समयमा सूचना दिन र समाजमा भएका नराम्रा कार्यलाई निरुत्सान गर्दै असल समाज निर्माणको कार्यमा लाग्न पूर्वकर्मचारीहरुको पनि महत्वपुर्ण भूमिका हुनेसमेत उहाँले बताउनुभयो ।
छलफलमा अवकासप्राप्त कर्मचारीहरुले देशको सेवा गर्ने बाटोमात्र परिर्वतन भएको तर सामाजिक कार्यमा आफूहरु अझै सक्रिय रहेको बताउनुभएको थियो ।